गहवामाईको रथयात्रामा देखियो उल्लास

गहवामाईको रथयात्रामा देखियो उल्लास

केन्द्रबिन्दु
9
Shares

रौतहट । ऐतिहासिक, सांस्कृतिक सम्पदा र धार्मिक आस्थाको प्रतीकको रुपमा रहेको वीरगञ्जको गहवामाईको रथयात्रा सम्पन्न भएको छ । गहवामाई मन्दिर पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा तेस्रो रथयात्रा गरिएको हो ।

विगतका वर्षझैं यस वर्ष पनि रथ यात्रालाई निरन्तरता दिइएको आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले जनाएको छ । समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार रथयात्रा मन्दिरबाट निस्केर घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगंजको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो ।

रथ यात्रासँगै छपन्न भोग, भजन–कीर्तन, महाप्रसाद र भव्य भन्डारा कार्यक्रम हुने उनले बताए । शुक्रबार ७ बजे बेलुकी ५६ भोग प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ भने शनिवार बिहान ६ बजेदेखि महाप्रसाद वितरण र साँझ ४ बजेदेखि भन्डाराको कार्यक्रम रहेको उनले जानकारी दिए ।

रथयात्रा भने निर्धारित समयभन्दा केही ढिलोगरी निस्केको भएपनि बाक्लो सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिको दाबी छ । भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा सहित नेपालको बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौंबाट समेत श्रद्धालुहरूको उल्लेखनिय सहभागिता रहेको समितिले जनाएको छ ।

रथ यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा घोषणा गरेको थियो ।

Logo