काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् । केन्द्रबिन्दु अनलाइनसँगको विशेष सम्वादमा बोल्दै सल्लाहकार थापाले उक्त प्रश्न गरेका हुन् । मदन भण्डारी प्रतिष्ठानप्रति यतिधेरै वैरभाव राख्नेले आफ्ना सन्तानप्रति यतिका धेरै मोह राख्न नहुने उनको भनाइ छ ।
त्यस्तै दक्षिणतर्फ खुल्ला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ । नेपाल भारत सीमानामा विभिन्न ८ स्थानमा अध्यागमन कार्यालय स्थापना गरिए पनि धेरै ठाउँबाट सहज आवागमन हुने भएकाले निगरानी राख्न चुनौतीपूर्ण बन्दै गएको हो ।
कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुने भएको छ । मंगलबार बिहान ८ बजेबाट सुरू हुने परीक्षाका लागि ४ लाख ३३ हजार १ सय ८० विद्यार्थीले आवेदन दिएका छन् । सम्बन्धित विद्यालयमै सञ्चालन हुने परीक्षाका लागि देशभर ४ हजार १ सय ५ परीक्षा केन्द्र तोकिएको छ ।
त्यस्तैगरी विश्वको चर्चित ‘केवन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालकातर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने उनी पहिलो ‘बक्सर’ हुन् । उनी हिमालयन चितुवा नामले बक्सिङ खेलमा विश्व चर्चित छन् ।
संयुक्तराज्य अमेरिकाले औपचारिक रुपमा आइतबारदेखि खुला आकाश प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरै वटा अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट अलग भइसकेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया