काठमाडौं
संघीय संसद्को बजेट अधिवेशन अर्थात दोस्रो अधिवेशन बिहीबार देखि समापन भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको अन्तमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन अन्त्यको पत्र पढेर सुनाउँदै संसद अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य हुने बताए ।
त्यसअघि सभामुख महराले दोस्रो अधिवेशनमा भएका र गरेका कामकारबाहीबारे संक्षिप्त जानकारी दिएका थिए । संसद बैठक गत वैशाख २१ गते प्रारम्भ भएको थियो । अधिवेशन अवधिमा ४ पटक प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा बिहीबारसम्ममा १ सय ३५ दिन बैठक बसेको सभामुख महराले जानकारी गराए । उनका अनुसार जेठ ७ देखि असार ८ सम्म राष्ट्रियसभा र प्रतिनिधिसभाको चार पटक संयुक्त बैठक बसेको छ । यो अधिवेशनबाट संसद नियमावली पारित, सरकारको नीति तथा कार्यक्रम छलफलपछि पारित, दुवै सदनका विषयगत समितिहरु गठन गरी सभापति चयन लगायतका महत्वपूर्ण कार्य गरेको सभामुख महराले जानकारी दिए ।
अधिवेशन अवधिमा महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव पारित भएको, विकास निर्माण र चिकित्सा शिक्षामा बढ्दै गएको विसंगति नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल भएको उनले बताए ।
सभामुख महराले संसद्को विशेष र शून्य समयमा सांसदहरुले उठाएका सडकको अवस्था सुधार, मूल्य नियन्त्रण, सुशासन लगायत विषयमा सरकारको पुनः ध्यानाकर्षण गर्ने बताए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया