पोर्चुगलमाथि स्पेनकाे फराकिलो जित

पोर्चुगलमाथि स्पेनकाे फराकिलो जित

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । विश्व च्याम्पियन स्पेनले वुमन युरो २०२५ मा पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । बर्नस्थित रंगशालामा भएको खेलमा स्पेनले पोर्चुगललाई ५-० गोलअन्तरले स्तब्ध पारेको हो ।

अप्रिलमा भएको नेसन्स लिगमा स्पेनले पोर्चुगललाई ४-२ र ७-१ ले हराएको थियो, जसले गर्दा यस खेलमा स्पेनलाई बलियो दावेदार मानिएको थियो। खेल सुरु भएको ८७ सेकेन्डमै स्पेनले पहिलो गोल गर्न सफल भयो। ओल्गा कार्मोनाको बायाँबाट आएको उत्कृष्ट पासलाई एस्थर गोन्जालेजले आफ्नो काँधमा नियन्त्रण गर्दै भलीमार्फत गोलमा परिणत गरिन्।

दोस्रो गोल छ मिनेटपछि आर्सनलकी विङ्गर मारिओना काल्डेन्टेको नीचो क्रसलाई १८ वर्षीय विक्की लोपेजले जाली चुमाए। त्यसपछि ४१औं मिनेटमा एलेक्सिया पुटेलासले तेस्रो गोल थपिन्।

त्यसकाे २ मिनेटमै गोन्जालेजले चौथो गोल गरिन्। क्लाउडिया पिनाको क्रस पोस्टमा लागेर फर्केपछि उनले रिबाउन्डमा ट्याप-इन गरिन्।

दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा सब्सटिच्युट क्रिस्टिना मार्टिन-प्रिएटोले सल्मा पारालुएलोको क्रसमा शक्तिशाली हेडरमार्फत पाँचौं गोल थपिन्। यो जितले स्पेनलाई युरो २०२५ मा बलियो सुरुवात दिलाएको छ ।

खेल सुरु हुनुअघि बिहीबार बिहान भएको कार दुर्घटनामा पोर्चुगलका स्ट्राइकर डिएगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको निधनको शोकमा एक मिनेट मौनधारण गरिएको थियो।

Skip This
Skip This
Logo