काठमाडौं । नेपालकाे शिक्षा क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि संलग्न प्रा. डा. श्रीराम भगुत माथे, जेभियर एकेडेमीका कार्यकारी अध्यक्ष र काठमाडौं डन बोस्को कलेजका बोर्ड अफ चेयर हुन्। उनले इन्जिनियरिङ अध्ययन संस्थानको डिनको कार्यभार सम्हालिसकेका छन् भने सेन्ट जेभियर कलेजका प्रथम प्रिन्सिपल पनि हुन्।
शिक्षा समय सान्दर्भिक र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यता राख्ने प्रा. डा. माथेले स्वयं जेभियर एकेडेमीको स्थापना गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्। उनै प्रा. डा. माथेसँग व्यावहारिक शिक्षा, शिक्षा क्षेत्रमा मौलाएको बेथिति र शिक्षा सुधारका विषयवस्तुमा केन्द्रित रही केन्द्रबिन्दुका लागि सरीता चौधरीले गरेको कुराकानीको सम्पादित अंश-
५ दशकदेखि शिक्षा क्षेत्रमा आबद्ध हुनुहुन्छ, शिक्षामा के परिवर्तन देख्नुहुन्छ?
-पहिले परिमाण मात्रा कम भएपनि गुणस्तर राम्रो थियो। तर, अहिले मात्रा बढेको छ, गुणस्तर खस्किएको जस्तो देखिन्छ । पछिल्लो १०-१५ वर्षदेखि त गुणस्तर झनै खस्किएको महसुस हुन्छ। मेरिटमा आधारित हुनुपर्छ, चाहे त्यो प्राध्यापकको नियुक्ति होस् वा कलेज तथा विश्वविद्यालयमा काम गर्ने प्रशासनिक कर्मचारीको। सबै योग्यताकै आधारमा हुनुपर्छ।
शिक्षाको गुणस्तर खस्कनुका धेरै कारण छन्। शैक्षिक क्षेत्रको नेतृत्वमा शिक्षा क्षेत्र बुझेकाे नेतृत्व नै हुनुपर्छ। पछिल्लो अवस्थालाई हेर्ने हो भने त्यस्तो छैन भन्ने बुझिन्छ। व्यक्ति त नियुक्त गरिन्छ तर पार्टीगत हिसाबले। शिक्षा क्षेत्रको विकासका लागि विश्वविद्यालयबाट राजनीति पूर्ण रूपमा हट्न आवश्यक छ। राजनीतिक आस्था सबैको हुन्छ। तर, कलेज वा विश्वविद्यालयमा प्रवेश गरेपछि त्यो आस्थालाई प्राध्यापक, विद्यार्थी र कर्मचारी सबैले गेट बाहिरै छोडेर आउनुपर्छ।
तपाईं इन्जिनियरिङको विद्यार्थी तर शिक्षण पेसामा चाहिँ कसरी लाग्नुभयो?
-संसारमा जति पनि क्षेत्र छन् तीमध्ये सबैभन्दा राम्रो शिक्षा क्षेत्र नै हो जस्तो लाग्छ मलाई । मैले राम्रो शिक्षा पाएँ, त्यसैले अरूले पनि त्यस्तै शिक्षा पाउनुपर्छ भन्ने लाग्थ्यो । वि.सं. २०३२ सालदेखि प्राध्यापकको रूपमा काम सुरु गरें र अहिले पनि निरन्तर रूपमा शिक्षा क्षेत्रमै लागिरहेको छु। अध्ययन-अनुसन्धानमा रुचि भएकाले त्यसले पनि मलाई यस क्षेत्रमा तान्यो।
हामीले जुन शिक्षा दिरहेका छौं त्यो समय सान्दर्भिक छ त ?
-हामीले दिइरहेको शिक्षा पूर्ण रूपमा समय सान्दर्भिक हुन सकेको छैन। संसार निरन्तर परिवर्तन भइरहेको छ । मानव जातिलाई बोल्न सिक्न १० हजार पुस्ता लाग्यो, ५० पुस्तापछि कृषि गर्न सिक्यो, र ५ सय पुस्तापछि मात्र लेख्न जान्यो।
समय जुन गतिमा परिवर्तन भइरहेको छ, त्यसैअनुरूप शिक्षा दिन अलि चुनौतीपूर्ण हुन सक्छ। तर, जस्तोसुकै परिवर्तन भए पनि त्यसैसँग घुलमिल भएर अगाडि बढ्न सकिन्छ ।
राजनीतिक आस्था सबैको हुन्छ। तर, कलेज वा विश्वविद्यालयमा प्रवेश गरेपछि त्यो आस्थालाई गेट बाहिरै छोडेर आउनुपर्छ।
२१औं शताब्दीलाई सीपकाे शताब्दी पनि भनिन्छ, यसमा दुईवटा विषयलाई प्राथमिकतामा राखिन्छ । एउटा भनेको मानिसहरूसँग काम गर्न सक्नुपर्छ र अर्को भनेको समस्या समाधान गर्न सक्नुपर्छ। यी दुई विषयवस्तुका लागि सञ्चार र सहकार्यको सीप आवश्यक पर्छ। तर, अहिले यस्तो खालको शिक्षा दिएको पाइँदैन। यदि कक्षा ११ र १२ मा नै विद्यार्थीलाई राम्ररी मार्गदर्शन गर्न सकियो भने, स्नातक र स्नातकोत्तरमा पनि कुन विधा रोज्ने भन्ने बारे विद्यार्थीले सही निर्णय लिन सक्छन्।
गरिखाने शिक्षा भएन भनेर जुन चर्काे बहस हुने गरेको छ । वास्तवमा गरिखाने शिक्षा कस्तो हुनुपर्छ ?
-विद्यार्थीलाई सैद्दान्तिक ज्ञान मात्र दिएर हुँदैन । सैद्दान्तिक ज्ञानसँगै सिप पनि सिकाउन आवश्यक हुन्छ । जस्तै, कुनै विद्यार्थी जागिरको लागि अन्तर्वार्ता दिन गएको छ भने, उसलाई पढेको विषयको मात्र प्रश्न सोधिँदैन कम्पनीमा फिट हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस्तो शिक्षा दिनुपर्याे कि विद्यार्थीले अध्ययन पूरा गरेपछि स्वरोजगार र आत्मािनर्भर हुन सकोस् ।
आज देशका विश्वविद्यालयहरुकाे जुन अवस्था छ, त्यस पछाडीको कारण के होला र सुधारको बाटो के हुन सक्छ ?
-विश्वविद्यालयको अवस्था खस्कँदै जानुको मुख्य कारण भनेको राजनीतिक हस्तक्षेप नै हो । राजनीतिक रुपमा पदाधिकारीहरुको नियुक्ति गर्नु अर्काे मुख्य कारण हो । प्रा. डा. केदारभक्त माथेमा त्रिवlको भिसी हुनुहुन्थ्यो त्यति बेला म इन्जिनियरिङ अध्ययन संस्थानको डिन थिए । उहाँले कहिल्यै पनि विश्वविद्यालयमा पार्टीगत हिसावले काम गर्नुभएन ।
भिसी, डिन, रेक्टर, प्राध्यापक, कर्मचारी लगायत सबै पदाधिकारीको नियुक्ति मेरिटको आधारमा गर्नुपर्छ । अनि मात्र शैक्षिक सुधार विश्वविद्यालय सुधारको कल्पना गर्न सकिन्छ ।
त्यतिबेला वर्ल्ड बैंकको प्राेजेक्ट आएको बेला प्रा. डा. केदारभत्त माथेमाको नेतृत्वमा कमिटी गठन गरी त्रिवि ठूलो भयो । त्रिविलाई सेन्टर अफ एक्सिलेन्स बनाएर विभाजन गर्ने योजना भयो । पश्चिममा मध्यमाञ्चल विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयमा विभाजन गर्ने निर्णय भएको थियो ।
त्रिविको जग्गा अरुलाई दिने भनेर यो विषय धेरै विवादित पनि बन्यो । तर हामीले विश्वविद्यालय विस्तारका लागि विश्वविद्यालयको जग्गा विश्वविद्यालयलाई नै दिने भनेको हो । तर ति विश्वविद्यालयले भटाभट सम्बन्धन दिन थाले । जसका कारण जुन गुणस्तरीय शिक्षाको कल्पना गरिएको थियो, त्यसो हुन सकेन ।
सर्वाङ्गीण शिक्षा प्रदान गर्नका लागि विद्यार्थीहरूलाई राइटिङ स्किल, स्पीकिङ स्किललगायतका विषयवस्तुमा केन्द्रित गराउन आवश्यक हुन्छ।
जेभियर एकेडेमीमा कस्तो शिक्षाण पद्धती अपनाइएको छ ?
-एकेडेमिक एक्सीलेन्समा जोड दिने उदेश्यले जेभियर एकेडेमीको स्थापना भएको हो । तर, एकेडेमिक एक्सीलेन्स मात्र पर्याप्त हुँदैन, विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकास हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। यसका साथै, जेभियर एकेडेमीले हेरचाहपूर्ण वातावरणमा सर्वाङ्गीण शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
सर्वाङ्गीण शिक्षा प्रदान गर्नका लागि विद्यार्थीहरूलाई राइटिङ स्किल, स्पीकिङ स्किललगायतका विषयवस्तुमा केन्द्रित गराउन आवश्यक हुन्छ। यसका साथै, विद्यार्थीहरू रोबोटिक्स क्लबमा पनि जोडिन सक्छन्। हामीले सामाजिक कार्यलाई पनि सँगै अगाडि बढाएका छौँ। हरेक वर्ष विद्यार्थीले तीन पटक अनिवार्य रूपमा सामाजिक कार्य गर्नुपर्छ।
यस्तो शिक्षा दिनुपर्याे कि विद्यार्थीले अध्ययन पूरा गरेपछि स्वरोजगार र आत्मािनर्भर हुन सकोस् ।
यस वर्षदेखि स्किल ल्याब पनि सञ्चालनमा ल्याइएको छ। यो ‘फ्युचर फिट करियर काउन्सिलिङ’ हो। एकेडेमीले हरेक वर्ष शिक्षण सिकाइमा केही न केही नयाँ गर्दै आएको छ। डिजिटल क्लासरूम, प्रोजेक्टमा आधारित सिकाइ, करियर काउन्सिलिङ जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
गुणस्तरीय शिक्षाको नाममा निजी शैक्षिक संस्थाहरुको शुल्क कुनै पाँच तारे होटलको मेनुभन्दा कम हुँदैन । के शुल्कले गुणस्तर शिक्षा निर्धारण गर्ने हो र ?
-धेरै अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमहरू जस्तै आईबी र ए-लेभल सञ्चालन गर्ने कलेजहरूले सोहीअनुसारको शुल्क लिने गरेका छन्। तर, जेभियर एकेडेमीले भने १० देखि १५ हजारसम्म शुल्क लिने गरेको छ। विज्ञान (साइन्स) विषयका लागि १५ हजारसम्म र व्यवस्थापन (म्यानेजमेन्ट) का लागि १२ हजार शुल्क तोकिएको छ। जेभियर एकेडेमीको स्थापना पैसा कमाउने उद्देश्यले भएको थिएन।
एकेडेमीले शैक्षिक गुणस्तरलाई सबैका लागि पहुँचयोग्य बनाउन छात्रवृत्तिमा जोड दिएको छ। पछिल्लो वर्षमा मात्र पूर्ण छात्रवृत्ति, आधा छात्रवृत्ति र विभिन्न छुट गरी कुल ९९ प्रतिशत विद्यार्थीलाई कुनै न कुनै हिसाबले छात्रवृत्ति प्रदान गरिएको थियो। यसमध्ये ४३ प्रतिशत विज्ञान विषयका विद्यार्थी र ३१ प्रतिशत व्यवस्थापन विषयका विद्यार्थीले छात्रवृत्ति पाएका थिए।
जेभियर एकेडेमीको भौतिक संरचना कस्तो छ ?
-शिक्षण सिकाइका लागि विद्यालयको वातावरण राम्रो हुनुपर्छ । जेभियर एकेडेमीले स्थापना कालदेखि नै भौतिक संरचनामा महत्व दिएको छ । भर्खरै मात्र नयाँ भवन सञ्चालनमा आएको छ । उक्त भवनमा पूर्ण रुपमा एआई सेन्टर सञ्चालन गर्ने भनेका छौं । त्यस्तै, अत्याधुनिक ल्याब, पुस्तकालय सहितटको सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु रहेको छ ।
एकेडेमीले शैक्षिक गुणस्तरलाई सबैका लागि पहुँचयोग्य बनाउन छात्रवृत्तिमा जोड दिएको छ।
जेभिएर एकेडेमी विद्यार्थीको रोजाईमा किन पर्ने गरेको छ ?
-जेभियर एकेडेमीले विद्यार्थीलाई सैद्दान्तिक ज्ञान मात्र दिँदैन । विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेको छ । छात्र र छात्रालाई समावेशी रुपमा शिक्षा प्रदान गर्दै आएको छ । जसअन्तर्गत ४८ प्रतिशत छात्रा, ५२ प्रतिशत छात्र रहेका छन् । त्यसैगरि इथ्नीक ग्रुपलाई पनि ब्यालेन्स गरिएको छ । २१ प्रतिशत ब्राम्हण, १६ प्रतिशत क्षेत्री, २९ प्रतिशत नेवार, २० प्रतिशत जनजाती, ३ प्रतिशत मधेशी विद्यार्थी रहेका छन् । एकेडेमीको स्थापना भएको २७ वर्ष भैरहँदा २५ ब्याच सम्मका ६ हजार ५ सय विद्यार्थी ग्राजुयट भैसकेका छन् । २५औं ब्याचसम्म आइपुग्दा एभरेजमा रिजल्ट ९४ प्रतिशत रहेको छ । विगत ३/४ वर्ष देखि सतप्रतिशत नतीजा रहेको छ । केरिङ इन्स्टिच्युसन, पारिवारिक वातावरण, एउटा कक्षा कोठामा ३० देखि ३२ जना विद्यार्थीलाई मात्र राखेर अध्ययन गराइन्छ ।
विद्यार्थीलाई तपाईंको सुझाव के छ ?
-प्लस टु अध्ययन भनेको उच्च शिक्षा अध्ययनका लागि आधार तय गर्ने तह हो । त्यसैले शैक्षिक संस्था छनौट गर्दा एउटा मात्र कलेजलाई हेर्नुहुँदैन । किनकी यो निर्णय भनेको कक्षा ११ र १२ को लागि मात्र होइन उच्च शिक्षा हारिल गर्ने आधार तय गर्ने पनि हो । प्लस टु अध्ययनका लागि शैक्षिक संस्था छनौट गर्दा त्यस शैक्षिक संस्थाको नतिजा, उपलब्धी, भौतिक संरचनाः कक्षाकोठा, ल्याब, पुस्तकालय, शैक्षिक प्रणाली लगायत विषयमा बुझ्न आवश्यक हुन्छ ।































प्रतिक्रिया