रास्वपाले आफ्ना सांसदलाई भन्यो- ‘निर्वाचन क्षेत्रको भ्रमणमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नू’

रास्वपाले आफ्ना सांसदलाई भन्यो- ‘निर्वाचन क्षेत्रको भ्रमणमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नू’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई निर्वाचन क्षेत्र भ्रमणलाई थप प्रभावकारी र परिणाममुखी बनाउन पार्टीसँग अनिवार्य समन्वय गरेर अघि बढ्न निर्देशन दिएको छ।

महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमार्फत सांसदलाई नागरिकसँगको भेटघाट र क्षेत्रगत गतिविधिलाई व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नराखी पार्टीको राजनीतिक अभियानका रूपमा अघि बढाउन आग्रह गरिएको हो।

रास्वपाले संघीय संसद् र स्थानीय तहका नागरिकबीच निरन्तर संवाद आवश्यक रहेको भन्दै निर्वाचन क्षेत्र भ्रमणलाई पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठन सुदृढ बनाउने र जनताका सुझावलाई संसद्को एजेन्डासँग जोड्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमण केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा सीमित नरही पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियान बन्नुपर्छ।’

रास्वपाले सांसदहरूलाई संस्थागत समन्वय र पूर्वसूचना, स्थानीय समस्याको पहिचान तथा प्राथमिकीकरण, संगठनको अपनत्व विकास, जनपरिचालन, मितव्ययिता र सुशासनका विषयमा समेत ध्यान दिन भनेको छ।

रास्वपाले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको सक्रियता एकअर्काका पूरक रहेको उल्लेख गर्दै समन्वयात्मक प्रयासले मात्र पार्टीको संस्थागत क्षमता बलियो बन्ने जनाएको छ।

‘सांसदहरूको प्रभावकारी भूमिका र पार्टी संगठनको चुस्तता एक–अर्काका पूरक हुन्। सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्‍याउनेछ र जनताप्रतिको जवाफदेहिता थप बलियो बनाउनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

Logo