काठमाडौँ
घुस सहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचार बापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको हो ।
२ महिना अघि घुस सहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव ) सुरेश ठाकुरको बैंक खातामा २ करोड रुपैयाँ भन्दा बढी रकम भेटिएको हो । उनी १२ साउनमा ३६ लाख ७२ हजार रुपैयाँ घुस सहित बुटवलमा पक्राउ परेका थिए ।
यसै विच अनुसन्धानका क्रममा बैंक खातामा अस्वाभाविक रकम देखिएपछि उनको सम्पत्तिको समेत छानबिन अघि बढाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । नगद सहित घर, जग्गा लगायत सम्पत्तिको स्रोत के हो भन्ने विषयमा छानबिन अघि बढाइएको आयोगको भनाइ छ ।
उनी २ महिना देखि आयोगको हिरासतमा छन् । आयोगले केही रकम उनकी श्रीमतीबाट समेत बरामद गरेको थियो । बरामद रकम आर्थिक वर्षको अन्त्यमा ठेकेदारहरूबाट लिएको अनुसन्धानमा खुलेको छ । घुससहित पक्राउ पर्ने कर्मचारीहरूविरुद्ध विगतमा उनीहरूको सम्पत्तिको छानबिन हुने गरेको थिएन । ठाकुरको सम्पत्ति अस्वाभाविक देखिएकाले अकुतमा पनि छानबिन थालिएको आयोगले जनाएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया