काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलले पहिलोपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीलाई उनकी जीवनसाथी यशोदा कुमारी देउवाबाट दान गरिएको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको हो। प्रत्यारोपण गरिएका नगरकोटी आजै अस्पतालबाट डिस्चार्ज भएका छन्।
डा. प्रविन बिक्रम थापा र डा. रोशन घिमिरेको नेतृत्वमा सम्पन्न यो जटिल शल्यक्रिया नेपाली चिकित्सा सेवामा एउटा महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि मानिएको छ । यस सफलताले नेपालमै उच्चस्तरीय चिकित्सा सेवा सम्भव छ भन्ने प्रमाणित गरेको केएमसीकाे दाबी छ।

केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो। केएमसीका सञ्चालकसमेत रहेका डा. शर्माले सफल प्रत्यारोपणमा संलग्न सम्पूर्ण चिकित्सक टोली, नर्स, प्राविधिक र अन्य सबै कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले यस प्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनुले नेपाली स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको बताए।
केएमसीले कलेजो प्रत्यारोपण निःशुल्क गरेको हो । विरामीको सम्पूर्ण खर्च अस्पतालले नै व्यहोरेको थियो ।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन् । उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
































प्रतिक्रिया