एजेन्सी । लुका मोडरिच विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । दुई सुपर स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै पहिलो पटक क्रोएसियन खेलाडी लुका विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक वर्ष प्रदान गर्ने ‘फिफा द बेस्ट अवार्ड’ यो पटक मोडरिचलाई प्रदान गरिएको हो । रसियामा गत जुलाईमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका लुकाले पहिलो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन्।
इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा सोमबार राती भव्य समारोहकाबीच भएको फिफा बेस्ट अवार्ड सेरेमोनीमा ३३ वर्षिय लुकाले रियलका पूर्व सहकर्मी हाल युभेन्ट्स क्रिस्टियानो रोनाल्डो र लिभरपुलका इजिप्टियन मेसी मोहम्मद सलाहलाई पछि पारे।
मोडरिचले २९.०५ प्रतिशत मत प्राप्त गर्दा रोनाल्डोले १९.०८ र सलाहले ११.२३ मत प्राप्त गरे। विश्वभरका राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक सेलेक्टेड मिडिया पर्सन र फ्यानहरुले अनलाइनमा गरेको भोटिङको आधारमा विजेता छनोट गरिएको हो।
एक दशकमा मेसी र रोनाल्डोले यस अवार्डमा वर्चस्व जमाएका थिए। दुवैले समान ५ पटक यो अवार्ड जितेका थिए। ब्राजिलियन फरवार्ड मार्टाले फिफा वर्ष महिला खेलाडीको अवार्ड जितेकी छन् । उनले छैटौँ पटक अवार्ड जितेकी हुन्।
यस्तै पुरुष वर्ष प्रशिक्षकको अवार्ड विश्व विजेता फ्रान्सेली प्रशिक्षक डिडयर डेसच्याम्प्ले जितेका छन् । महिला तर्फको प्रशिक्षकको अवार्ड फ्रान्सेली क्लब लियोनका रेयनाल्ड प्याड्रोसले जिते। उत्कृष्ट गोलकिपरको अवार्ड टिबाउट कोर्तवाले जितेका छन् भने उत्कृष्ट गोलको लागि पुस्कास अवार्ड लिभरपुलका मोहम्मद सलाहले प्राप्त गरे।
यस्तै गोलकिपरमा युनाइटेडका डेविड डे हेअ, डिफेन्डरहरुमा ड्यानी अल्भ्स, सर्गियो रामोस, मार्सेलो र राफेल भरान, मिडफिल्डरमा मोडरिचसँगै एनगोलो कान्टे र एडेन हाजार्डले स्थान बनाए । फिफा फ्यान अवार्ड पेरुको फ्यानहरुले प्राप्त गरेका छन् ।





























प्रतिक्रिया