काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले नेपालको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता औंल्याएका छन् ।
केन्द्रबिन्दु मिडिया प्रालिकाे आयोजनामा शुक्रबार भएकाे ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रम अन्तर्गत ‘के नेपाल शैक्षिक हब बन्र सक्छ ?’ भन्रे विषयक प्यानल डिस्कसनमा उनले यस्ताे बताएका हुन् ।उनले एक्लै नभई सिंगो शिक्षा समिति नै नेपालको शिक्षालाई अगाडि बढाउन दृढ रहेको बताए ।
सभापति थापाका अनुसार, अहिलेको विद्यालय शिक्षालाई सुधारात्मक रुपमा अगाडि बढाएर नयाँ नीति निर्माण गर्नुपर्नेमा समिति केन्द्रित छ। “लथालिङ्ग शिक्षालाई गुणस्तरीय बनाउने हाम्रो मुख्य लक्ष्य हो,” उनले भने ।
वर्तमान शिक्षा प्रणालीको कमजोरी केलाउँदै थापाले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू खाडी मुलुक जाने र निजी विद्यालयमा पढेकाहरू युरोप जाने अवस्था रहेकोमा चिन्ता व्यक्त गरे । “जहाँ तालाबन्दी हुन्छ, त्यहाँ विदेशी विद्यार्थी कसरी आउँछन् त?” उनले प्रश्न गरे ।
शिक्षामा भइरहेको राजनीतिकरणको प्रवृत्तिलाई अन्त्य गर्ने प्रयास सुरु गरिएको जानकारी दिँदै सभापति थापाले अब सुधारात्मक शिक्षा बनाउन सके मात्र देश सुध्रिने विश्वास व्यक्त गरे । यसका लागि राज्यले आर्थिक रुपमा सहयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।





























प्रतिक्रिया