काठमाडौं । लिटल एन्जल्स स्कुलका संस्थापक उमेश श्रेष्ठले शिक्षा देशको मेरुदण्ड भएको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा बोल्दै देशमा समय सापेक्ष शिक्षा नीति ल्याउन नसकेसम्म देश विकास नहुने बताएका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बसेर लामो समयसम्म काम गरेका उनले शिक्षासम्बन्धि ऐन ल्याउन धेरै प्रयत्न गरेका थिए । तर त्यतिबेला ऐन आउन सकेन। अब आउने शिक्षा ऐनमा आशावादी रहेको उनको भनाइ छ ।
देश बनाउने हो भने शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
शिक्षा क्षेत्रलाई अगाडि बढाउन निजी क्षेत्रले लगानीको दयारा बढाउनुपर्ने उनले बताए । राज्यले मात्रै शिक्षामा काम गर्न नसक्ने बताउँदै उनले निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न समेत आह्वान गरे ।
‘मुलुकमा ११ प्रतिशतभन्दा बढी लगानी शिक्षामा भएको छ । कतिपय ठाउँमा २० प्रतिशत लगानी भएको छ । २८ हजार स्कुल हामीले खोल्यौं । १५ हजार विद्यालयमा एक सय विद्यार्थी पनि छैन। कुनै विद्यालयमा शिक्षक बढी छ विद्यार्थी कम छ’ उनले भने । विद्यार्थी धेरै भएको विद्यालयलाई धेरै स्रोतसाधन दिनुपर्नेमा पनि उनले जोड दिए।
राम्रो नतिजा दिन नसक्नेलाई विद्यालयलाई मर्जरमा लगेर बिग स्कुलको कसेप्टमा लैजानुपर्ने उनको भनाइ थियो। ‘राम्रो गर्नेलाई रिवार्ड गर्ने र नराम्रो नतिजा ल्याउने स्कुललाई घटुवा गर्ने, सहरी क्षेत्रहरूमा टेक्नोलोजीलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ’ उनले भने।
गरिबीको रेखामुनी रहेका विद्यार्थीलाई सकेको मद्दत गर्नुपर्ने उनले बताए। अब विश्वव्यापी प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाउनुपर्नेमा उनको जोड छ । ‘ग्लोबल भिलेजलाई छेक्न सक्दैनौ। यहाँ पढेर काम पाउँदैन। उद्यमशील बन्न सक्दैन भने मान्छेहरू यहाँ बस्न सक्दैन । यो हामीले रोकेर रोक्न सक्दैनौं’ उनले भने।
नेपालमा शिक्षा क्षेत्रले धेरै सम्भावना रहेको उनले बताए । मुलुकलाई शिक्षाको हब बनाउन सकिने उनको भनाइ थियो। त्यसैले सोच र मानसिकतामा परिवर्तन ल्याउनुपर्ने उनी बताउँछन् । ‘जबसम्म सोच र मानसिकतामा परिवर्तन गर्न सक्दैनौं । तबसम्म यहाँ आर्थिक गतिविधि हुनै सक्दैन । हाम्रो मानसिकता नै राज्यले सबै गर्नुपर्यो भन्ने छ । शिक्षा, स्वास्थ्य, बाटो सबै राज्यले गर्नुपर्यो भन्ने छ । राज्यको सोत के हो थाहा भएकै कुरा हो । राजश्व १२ खर्ब पनि आउँदैन । १९ खर्बको बजेट बनाउँछौं’ उनले भने ।
शिक्षा क्षेत्रमा बाहिरी लगानीकर्ता भित्र्याउनुपर्नेमा उनको जोड थियो। देशलाई धनी बनाउनको पुँजीलाई चलायमान बनाउनुपर्ने उनले बताए।
नीति बनाउने मान्छेले फराकिलो सोच बनाउनुपर्ने उनको भनाइ छ। ‘नेपालमा सम्भावना पर्याप्त छ यो देश सुनको अण्डा हो। नीतिमा परिवर्तन हुनुपर्यो। लगानीलाई खुला गर्नुपर्यो । ऐनमा सबैलाई समेट्नुपर्छ’ उनले भने ।
विद्यालय राम्रो हुन प्रधानाध्यापकदेखि व्यवस्थापन समिति र शिक्षकसम्म राम्रो हुनुपर्ने उनले बताए । जीवनाेपयोगी शिक्षा दिने, रोजगार व्यवसायमुलक शिक्षा दिने ऐन पाठ्यक्रम परिवर्तन गरेर लैजान पनि उनले सुझाव दिए।





























प्रतिक्रिया