काठमाडौं । गेट कलेजका संस्थापक अध्यक्ष खेमराज लकाईले नेपालमा विदेशी विद्यार्थीलाई आकर्षित गर्ने सम्भावना उच्च रहेको भए तापनि नीतिगत कमजोरीले समस्या परेको बताएका हुन् ।
कर्मकाण्डी र अव्यवहारिक नियम तथा विश्वदृष्टिको अभावका कारण यो सम्भावनाको पूर्ण उपयोग हुन नसकेको उनको भनाइ छ ।
केन्द्रबिन्दु अनलाइन मिडियाले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा बाेल्दै उनले भने, “गेट कलेज सम्भवत गेट पहिलो कलेज हो जहाँ साउथ कोरिया, भुटान, भारत, चीन, बंगलादेश, र फिलिपिन्स लगायतका २४ वटा देशका विद्यार्थीहरू आएर पढिरहेका छन् ।”
उनले हालै सरकारले विदेशी विद्यार्थीलाई भिजा प्रक्रिया सहज बनाउने घोषणा गरेको कुराको स्वागत गर्दै थपे, “अब नेपाल पढ्न आउने विद्यार्थीहरुले यो अवधिभरको लागि भिजा पाउने भन्ने कुरा आएको छ । त्यो एकदमै स्वागत योग्य कुरा हो।”
तर, उनले यससँगै विद्यमान प्रणालीमा थुप्रै कर्मकाण्डी र अव्यावहारिक नियमहरू रहेको औँल्याए ।
डेनमार्कबाट आएका एक विद्यार्थीको प्रसंग सुनाउँदै भने, “विद्यार्थीले त आफ्नो खर्चका लागि क्रेडिट कार्ड बोकेका छन् तर हामीले अझै ३ हजार डलर नगद बैंकमा राख्नुपर्ने, चेक नमान्ने जस्ता नियम पालना गर्न लगाउँछौं । यस्तो प्रणालीले उनीहरूलाई अनावश्यक दुःख पाइरहेका छन् ।”
बंगलादेशबाट आएका विद्यार्थीहरू पनि भिसा प्रक्रिया र प्रशासनिक कठिनाइका कारण निराश भएको उल्लेख गर्दै उनले स्पष्ट पारे । “उनीहरूले नेपाल आउँदा पहिले मोबाइल चलाउन, कागजात पठाउन झन्झटै थियो । अब यो सुधार हुँदैछ भन्ने आशा राख्न सकिन्छ ।”
उनले नेपालको समस्या शिक्षाको गुणस्तर नभएर नीति र दृष्टिकोणमा रहेको बताए । “हामीसँग क्षमता छ, क्वालिटी अफ एजुकेसन समस्या होइन। समस्या नीति हो, र त्यो नीति बनाउँदा वल्र्ड भ्यू चाहिन्छ । अन्तर्राष्ट्रिय स्तरमा के भइरहेका छन् अध्ययन गर्न आवस्यक छ,’’ उनले भने ।
त्यसैगरी छिमेकी राष्ट्र भारतले डिजिटल माध्यमलाई कसरी अपनाएको छ, जनशक्ति व्यवस्थापनमा कस्ता नीति ल्याएको छ, त्योबाट नेपालका शिक्षा नीति निर्माताहरुले सिक्न आवश्यक रहेकोमा उनको जोड छ ।































प्रतिक्रिया