नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न राज्यको सोच परिवर्तन अनिवार्य छ -अध्यक्ष शेषराज भट्टराई

नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न राज्यको सोच परिवर्तन अनिवार्य छ -अध्यक्ष शेषराज भट्टराई

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले नेपालको शिक्षा प्रणालीमा सुधार र विदेशी विद्यार्थी भित्र्याउने प्रयासमा राज्यको सोच परिवर्तन आवश्यक रहेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’मा भएकाे प्यानल डिस्कसनमा उनले भने, ‘राज्य सधैं नेपाली विद्यार्थीलाई बाहिर पठाउने तिर मात्र लाग्यो, तर विदेशी विद्यार्थीलाई ल्याउने विषयमा न राज्यको नीतिगत प्राथमिकता देखियो, न गम्भीर इच्छा ।’

उनले पछिल्लो समयको तथ्यांक उदृत त गर्दै थपे, ‘‘सात वर्षमा ६ खर्ब रुपैयाँ नेपाली विद्यार्थी विदेश पढ्न गएकोमा खर्च भएको छ । वर्षेनी झन्डै १ लाख विद्यार्थी उच्च शिक्षाको लागि विदेश गइरहेका छन् यसको ठोस नीतिगत विश्लेषण गरिनुपर्छ ।’’

भट्टराईले नेपाल सरकारसँग विदेश जाने विद्यार्थीहरूको यकिन तथ्यांकसमेत नरहेको उल्लेख गर्दै भने, ‘‘गएको रकम मात्रै गणना गरिएको छ, तर विदेशमा शिक्षा लिएको अनुभव बोकेर फर्किएकाहरुको योगदानको हिसाब छैन । थुप्रै विद्यार्थी फर्किएर यहीं स्टार्टअप, उद्यमशिलता र अन्य पेशामा सक्रिय छन् तर राज्यसँग त्यसको रेकर्ड छैन ।’’

‘‘परामर्श क्षेत्रका व्यक्तिहरु लामो समयदेखि शिक्षा प्रवाह प्रक्रियामा काम गर्दै आएका छौँ । कुनै समय अमेरिका, बेलायत, अष्ट्रेलिया भन्ने शब्द सम्पन्न वर्गका लागि मात्रै थियो, तर आज मिडल क्लासको पहुँचमा पनि विदेश शिक्षा पुगेको छ । हामीले त्यसको प्रोफेसनल व्यवस्थापन गरिरहेका छौं ।’’ भट्टराईले भने ।

उनले विदेश जाने मात्र होइन, गएकाहरुलाई व्यवस्थित गर्दै नेपालमै विदेशी विद्यार्थी भित्र्याउने रणनीति निर्माणमा जोड दिनुपर्ने बताए । “नेपाललाई शैक्षिक हब बनाउनु आजको आवश्यकता हो । चीन, भारत, बंगलादेश जस्ता विशाल जनसंख्या भएका मुलुकहरूसँग हामीले भौगोलिक लाभ लिन सकिन्छ ।’’

उनका अनुसार, भारत र चीनले २५–३० वर्षअघि नै शिक्षा हब बनाउने प्रयास गरेका थिए, जुन अब सफलता तिर उन्मुख छन् । ‘‘भारतको नयाँ शिक्षा नीतिले केही विश्वप्रसिद्ध विश्वविद्यालयलाई भारत ल्यायो । नेपालमा पनि त्यस्ता मोडेल इन्कर्पाेरेट गर्न सकिन्छ । हामीसँग पूर्वाधार छ, दक्ष जनशक्ति छ, निजी शिक्षण संस्थाहरूको अनुभव छ ।’’

ति संस्थाहरु तयारी अवस्थामा छन् तर राज्यको माइन्डसेट बलियो नभएसम्म विदेशी विद्यार्थी आउँदैनन् अनि यस्तो बहसले सार्थकता नपाउने उनकाे भनाइ थियाे ।

Logo