विराटनगर । काठमाडौंबाहिर पहिलोपटक जन्मजात कान सुन्न नसक्ने बालकहरूको सफलतापूर्वक कोक्लियर इम्प्लाण्ट शल्यक्रिया भएकाे छ ।
विराटनगर-४, कन्चनबारीस्थित नोबेल शिक्षण अस्पतालमा उक्त शल्यक्रिया भएकाे हाे । शल्यक्रियापछि आयोजित पत्रकार सम्मेलनमा नोबेलका संचालक समितिका सल्लाहाकार सोइना शर्मा, अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, नाक कान घाँटी रोग विभागकी प्रमुख डा. मीनाक्षी बस्नेत र नाक कान घाँटी विशेषज्ञ डा. शंकरप्रसाद साहको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा कोक्लियर इम्प्लान्टको प्रक्रिया, यसको फाइदा र नेपालमा यसको उपलब्धताका बारेमा विस्तृत जानकारी दिइएको थियो । साथै सुन्ने समस्या भएका बालबालिकालाई समयमै उपचार गराउनु पर्नेमा जोड दिइएको थियो ।
डा. शंकरप्रसाद साह नेतृत्वको टोलीबाट हालसालै सफलतापुर्वक सम्पन्न कोक्लियर इम्प्लाण्ट शल्यक्रिया पछि ती बालकहरूले श्रवण शक्ति प्राप्त गरेकोमा सवैले खुशी व्यक्त गरेका थिए । सो क्रममा पत्रकार तथा अन्य उपस्थितहरूको जिज्ञासाहरूको डा. मीनाक्षी बस्नेत, डा. शंकरप्रसाद साह तथा अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालबाट प्रष्ट पारिएको थियो ।
कार्यक्रममा सफल कोक्लियर इम्प्लान्ट शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्किएका बालबालिका र उनीहरूका परिवारजनले आफ्ना अनुभवहरू सुनाएका थिए। परिवारजनले आफ्ना सन्तानले सुन्न र बोल्न थालेपछि जीवनमा आएको परिवर्तनप्रति खुसी व्यक्त गरे।































प्रतिक्रिया