भनसुन र फाइल अड्किने गतिविधि रोक्न संयन्त्र बनाएर अघि बढ्नेछु -मन्त्री न्यौपाने

भनसुन र फाइल अड्किने गतिविधि रोक्न संयन्त्र बनाएर अघि बढ्नेछु -मन्त्री न्यौपाने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक सङ्घीयतालाई सुदृढ बनाउने आफ्नो प्राथमिक कार्यभार रहेको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले प्रशासनिक सङ्घीयता सुदृढ नभई सङ्घीयता बलियो हुन नसक्ने धारणा राखे । मन्त्री न्यौपानेले भने, “हाल तीनै तहका सरकारले कर्मचारी व्यवस्थापनमा जुन खाले समस्या भोगिरहेका छन्, तिनको अन्त्यमा ध्यान दिनुपर्ने आवश्यकता छ । यसमा सबैले लाग्नुपर्ने आवश्यकता छ ।”

जनतालाई कुनै पनि सास्ती नहुने गरी छिटोछरिता र गुणस्तरीय सेवा प्रवाहमा सहयोग पु-याउन कर्मचारीले इमान्दारपूर्वक प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए ।

जनतालाई परिवर्तन र सुधारको अनुभूति हुनेगरी कार्यसम्पादन गर्ने विश्वास दिलाउँदै मन्त्री न्यौपानेले सङ्घीय निजामती ऐन सङ्घीय संसद्को चालु अधिवेशनबाटै पारित हुने दृढता व्यक्त गरे । जनतालाई पर्न गएका सबै खालका समस्या समाधान, सुशासन र पारदर्शितालाई आफूले अलि बढी ध्यान दिने बताउँदै उनले आफ्नो नैतिक निष्ठाबाट जुनसुकै अवस्थामा अलग नहुने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री न्यौपानेले भनिन्, “कुनै पनि खालको बेथिति अन्त्य गर्न जनताका गुनासा सुन्नुपर्छ । फाइल अड्केको र भनसुनका आधारमा काम हुन्छ भन्ने जनगुनासा रहेकाले त्यसखाले गतिविधि रोक्न संयन्त्र निर्माण गरी अघि बढ्नेछु ।”

मन्त्रालय मातहत निजामती अस्पताल, राष्ट्रिय किताब खाना, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानजस्ता विभाग छन् । सङ्घीय निजामती सेवामा सङ्घमा हाल करिब ५३ हजार, प्रदेश सेवामा २२ हजार र स्थानीय सेवामा करिब ६० हजार कर्मचारी कार्यरत छन् । सामान्य प्रशासन मन्त्रालयमा भने हाल १४८ जना कर्मचारी कार्यरत रहेको जानकारी दिइयो ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यका लागि आवश्यक वातावरण बनाउन मन्त्रालयले विभिन्न कोणबाट भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

Skip This
Skip This
Logo