काठमाडौं
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि काटिने रुखको बजार मूल्य झन्डै ६ खर्ब पर्ने अनुमान गरिएको छ ।
वातावरणीय प्रभाव मूल्यांकन ( इआइए ) प्रतिवेदन अनुसार विमानस्थल निर्माणका लागि २४ लाख ५० हजार वटा रुख काट्नुपर्छ । काटिने ती रुख काठ तथा दाउरा प्रयोजनका लागि बिक्री गर्दा हालको बजार मूल्य अनुसार पाँच खर्ब ९६ अर्ब रुपैयाँ हुन्छ । त्यसबाट सरकारले रोयल्टी मात्रै १५ अर्ब रुपैयाँ पाउने इआइए प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार रुख अत्याधिक काट्नु पर्ने भएपछि विरोध पनि सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयबाट इआइए स्वीकृत गराएर रुख काट्न हतारिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको चौतर्फी आलोचना भएको थियो । विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर ) समेत नबनाई रुख काट्न स्वीकृतिका लागि उनले वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरिरहेका थिए । मन्त्री अधिकारीले पहिलो चरणमा ७ लाख ७० हजार रुख काट्न अनुमति मागेका थिए । यो २५ सय ५६ हेक्टर क्षेत्रफलका रुखको संख्या हो ।
इआइएको प्रतिवेदन समेत गलत भएको र डिपिआर नबनाई रुख काट्न हतारिनुले शंकास्पद देखिएपछि आएको विरोधले भने दुवै मन्त्रालय पछि हटेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँका अनुसार विमानस्थल बनाउन प्रक्रिया थाल्नु अघि रुख काट्न हतार गरिनुले जंगल मासेर काठको व्यापार गर्ने उद्देश्य राख्नु हो । यसरी विरोध आएपछि भने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार विमानस्थलबारेमा गम्भीर छलफल भइरहेको छ ।
ठूलो संख्यामा रुख काट्नु पर्ने विषयमा भने मन्त्रालयको आन्तरिक छलफल र प्रधानमन्त्रीको निर्णयबाट टुंगो लाग्नेछ । अहिले सम्म मन्त्रालयबाट कुनै निर्णय भइनसकेको मन्त्रालयका सूचना अधिकारी सुमन सुवेदीले बताए । ‘विमानस्थलका बारेमा मन्त्रालयबाट कुनै प्रकारको निर्णय भइसकेको छैन,’ सुवेदीले भने, ‘छलफलकै क्रममा रहेकाले केही भन्न सकिन्न ।’
नागरिकबाट





























प्रतिक्रिया