काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा रहेको आईएसटी कलेजको १८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रवार याक एन्ड यति होटलमा आयाेजित एक विशेष समाराेहमा कलेजले सन् २०२२ ब्याचका ९८ विद्यार्थीलाई दीक्षित गरेको हो ।
सेप्टेम्बरमा इन्टेक हुने २६ जना, २२ जनवरीमा इन्टेक हुने एचएमका ६९ जना र टुरिजमका ३ जना विद्यार्थी दीक्षित भएका हुन् ।
कार्यक्रममा अस्ट्रियाको साल्जवर्ग युनिभर्सिटी अफ अप्लाइ साइन्सेज अस्ट्रेलियाका डिन प्रो. इभा ब्रुकर, विदुशी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका उपकुलपति प्रा. डा. रमेश ढुङ्गेल, लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयको बुद्धिस्ट स्टडिज संकायका डिन डा. मानिक रत्न शाक्य र आईएसटी कलेजका सिइओ नरेन्द्र बज्राचार्यको आतिथ्यता रहेको थियो ।
कलेजले विद्यार्थीहरूलाई दीक्षित गर्नुको साथै भविष्यमा आगामी यात्राको लागि शुभकामना दिएको छ । कार्यक्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी र अभिभावकहरूको सहभागीता रहेको थियो ।

विदुशी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका उपकुलपति प्रा. डा. रमेश ढुङ्गेलले आइएसटी कलेजले समय सुहाउँदो शिक्षा प्रदान गरिरहेको बताए । टुरिजमको सम्भावना अत्यधिक भएको भन्दै नेपालमै विद्यार्थीको भविष्य नेपालमै उज्ज्वल रहेको दावी गरे ।
आईएसटी कलेजका सीईओ नरेन्द्र बज्राचार्यले दुई दशकको यात्रामा आईएसटी कलेजले होटल एन्ड टुरिजम सेक्टरमा गुणस्तर शिक्षा दिनमा सक्षम रहेको बताए । उनले भने, “आईएसटी कलेजमा अध्ययन गरेका विद्यार्थीहरु नेपाल र विश्वका प्रतिष्ठित होटलमा स्थापित भएकोमा यो नै कलेजको उपलब्धि हो ।”
लुम्बिनी बौद्ध विश्वविद्यालयको बुद्धिस्ट स्टडिज संकायका डिन डा. मानिक रत्न शाक्यले विद्यार्थीहरुलाई हौसला दिदै आफ्नो लक्ष्य प्रति अडिक रहन आग्रह गरे । ‘लक्ष्य प्राप्तिका लागि त्याग पनि गर्न सक्नुपर्छ। समस्या आयो भन्दैमा भाग्नु हुँदैन, समस्याको सामना गर्नुपर्छ’ उनले भने।

साल्जवर्ग युनिभर्सिटीसँग अफ अप्लाइ साइन्सेज अस्ट्रेलियाका डिन प्रो. इभा ब्रुकरले विद्यार्थीलाई शुभकामना दिँदै यो सफलताकाे कथा बुन्नलाई तयार हुने समय रहेकाे र ईनोभेटिभ आईडियाका साथ अगाडि बढ्न आग्रह गरिन् ।
त्यसैगरी आईएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले आगामी जीवनमा आउने चुनौतीको सामना गर्न तयार हुन अनुरोध गरिन् ।

कार्यक्रममा विदुशी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका उपकुलपति प्रा. डा. रमेश ढुङ्गेलले टुरिजम जर्नल सार्वजनिक गरेका थिए । दीक्षान्त समारोहमा विभिन्न विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी अभिभावको उपस्थिती रहेको थियो ।

आईएसटी कलेज सन् २००४ मा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विभिन्न शैक्षिक डिग्री र तालिम प्रदान गरी स्थापना भएको हो । अस्ट्रियाको साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेजसँग सम्बद्ध प्राप्त कलेजले छोटो समयमा नै ठूलाे सफलता प्राप्त गरेको छ ।





























प्रतिक्रिया