वीरगंज
प्रदेश दुईको विभिन्न स्थानमा राजपा लगायत दलहरुले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदा मधेश आन्दोलनका अगुवाले भने मृत संविधानको पुनर्जीवन खोज्न नसकिने अवधारणा राखेका छन् ।
संविधान जारी भएको असोज ३ गते बुधबार वीरगन्जमा आयोजित ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा’ विषयक कार्यक्रममा बोल्दै लेखक खगेन्द्र संग्रौलाले संविधानको विरोध गर्नेलाई विखण्डनकारी भनिन्छ तर जसले यो संविधान जारी गरयो तिनीहरु नै विखण्डनकारी भएको बताए । उनले मधेसीको रगतमा लगपतिएको संविधानमा संसोधन नगरेसम्म यसले पुनर्जीवन नपाउने धारणा राखे ।
सिके लालले फाष्ट ट्रयाकको नाममा हतारमा संविधान जारी गरेर मृत बच्चा पैदा भए सरह संविधान आएकाले सबैलाई सर्वस्वीकार्य हुन नसक्ने विचार राखे । संघिय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले भने संविधान संशोधन हुन्छ भन्ने आशामा फोरम सरकारमा गएको तर मधेसको माग सम्बोधन नभए दसैं, तिहार लगत्तै पार्टीले मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।
मधेस मिडिया फाउन्डेसनका तुला नारायण साहले तीन ठूला दलका खस आर्य समूहका सांसदको स्वार्थमा संविधान जारी गरीएकाले मधेसी, दलित, जनजातिको अधिकार संविधानमा नसमेटिएको बताए । यता राजपाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस आन्दोलनका क्रममा गिरफ्तार गरिएका छुट्लान, संविधान संसोधन होला भन्ने आशामा आफूहरुले सरकारलाई समर्थन गरेको जिकिर गरे । ‘समर्थन दिए पनि हामी अझै सम्म विपक्षमै बस्दै आएका छौँ’, उनले भने, ‘सरकारले दिएको आश्वासन पूरा गरेन भने समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं ।’
डा.सुन्दरमणी दीक्षितले मधेस कमजोर भए समग्र नेपाल पनि कमजोर हुने भएकाले उनीहरुको मुद्दा सम्बोधन गर्न दुई तिहाईको सरकार उदार हुनैपर्ने बताए । ‘यसका लागि फोरम र राजपा पनि एक जुट हुनैपर्छ नभए शासकहरुले खेल्ने मौका पाउँछन्’, उनले भने ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसी समुदायको दुःख देखेर आफनो आँसु नै रित्तिइसकेको भन्दै राजपा कसैको पिछलग्गु नबन्ने स्पष्ट पारे । ‘मधेसको मुद्दालाई किनारा लगाएर कुनै हालतमा आत्मसमर्पण गर्दैनौं’, उनले भने, ‘अन्तिम समय सम्म लड्नेछौँ ।’ राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसको माग समयमै संबोधन हुन नसके अलग मधेसको माग पनि उठ्न सक्ने चेतावनी दिएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया