काठमाडाैं । इंग्ल्यान्डले आगामी तीन विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी)को संस्करणको फाइनल आयोजना गर्ने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)का अनुसार इंग्ल्यान्डले सन् २०२७, २०२९ र २०३१ मा हुने डब्ल्यूटीसीको फाइनल आयोजना गर्ने भएकाे हाे । हालसम्मका सबै तीन डब्ल्यूटीसी फाइनल इंग्ल्यान्डमै भएका छन्, जसमा गत महिना लर्ड्समा भएको २०२५ को फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हराएको थियो।
सिंगापुरमा भएको आफ्नो वार्षिक सम्मेलनमा आईसीसीले इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) लाई “हालैका फाइनलहरू सफलतापूर्वक आयोजना गरेको उत्कृष्ट रेकर्ड” लाई ध्यानमा राख्दै आगामी तीन फाइनलका लागि आयोजना अधिकार प्रदान गरेको बताएको छ ।
पहिलो डब्ल्यूटीसी फाइनल सन् २०२१ मा साउथह्याम्प्टनमा भएको थियो, जसमा न्युजिल्यान्डले भारतलाई हराएको थियो। सन् २०२३ को फाइनल ओभलमा भएको थियो, जहाँ अष्ट्रेलियाले भारतलाई हरायो र त्यो खेलका सबै टिकट बिक्री भएका थिए। यस वर्ष लर्ड्समा भएको फाइनलको पनि पहिलो चार दिनका टिकट बिक्री भएका थिए, जसमा दक्षिण अफ्रिकाले चौथो दिनमा जित हासिल गर्यो।
इंग्ल्यान्डले अहिलेसम्म डब्ल्यूटीसी फाइनलमा स्थान बनाउन सकेको छैन र २०२३-२५ चक्रमा पाँचौं स्थानमा रहेको थियो।





























प्रतिक्रिया