भारतबाट २ सय ५० मेगावाटसम्म बिजुली आयात गरिनेदेखि कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चितसम्म (भिडियोसहित)

भारतबाट २ सय ५० मेगावाटसम्म बिजुली आयात गरिनेदेखि कांग्रेसको १४ औँ महाधिवेशन अनिश्चितसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडो यामका लागि ढल्केवर–मुजफ्फरपुर लाइनमार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले स्वीकृति दिएको जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएका हुन् । शाक्यले नियमित आयात भइराखेकोभन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्नेगरी सम्झौता स्वीकृत भएको उनको भनाइ छ ।

त्यस्तै सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको घटनाले नेकपाभित्रको विवादमा थप मलजल गरेको छ । पार्टीको प्रशिक्षण तथा कार्यकर्ता भेलामा आफ्नै पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेपछि नेकपा विवादमा थप मलजल पुगेको हो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकटका कार्यकर्ताले नेता पाण्डेमाथि दुर्व्यवहार गरेका थिए ।

सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानुनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फले अहिले समाजमा व्यापक रुपमा यौंनजन्य घटनाहरु घटिरहे पनि मौजुदा कानुन अपर्याप्त रहेकाले संशोधन गरिएको बताइन् ।

त्यस्तैगरी सामाजिक सुरक्षाको आधारभूत अवधारणासँगै योगदानकर्ताको चाहनालाई पनि सम्बोधन गर्न योजना परिमार्जनको तयारी अगाडि बढाइएको छ । कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानुन मन्त्रालय, ट्रेड युनियन तथा रोजगारदाताको प्रतिनिधित्व रहेको उपसमिति गठन गरी योजना परिमार्जनको तयारी गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने दायित्वबाट चुकेको आरोप खेपिरहेको नेपाली कांग्रेसमा दिनहुँ बैठक र छलफल भए पनि दुबै पक्षले आ–आफ्नो अडान नछोड्दा विवाद चर्किंदै गएको छ । कांग्रेसभित्रको विवादमा पार्टी सभापति शेरबहादुर देउवाले एकतर्फी रुपमा पेलेर अगाडि बढेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ । यस्तो अवस्थामा १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमा नै हुन्छ वा हुँदैन भन्ने अन्योल देखिएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo