चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक, टिकटक बनाउनेलाई ३० हजार

चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक, टिकटक बनाउनेलाई ३० हजार

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।

सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।

गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।

विवाहित र अविवाहित महिलाले तीनका गीतमा कसरी आफ्नो बह पोखेर रमाइलो गर्छन्, गीतमा देख्न सकिन्छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् । आफू पनि अविवाहित भएकाले विवाह गर्ने भन्दै मन्जिल कुमार छन् । उनी सुरक्षाको पछि लागेका छन् । सुरक्षा पनि उनीप्रति सकारात्मक रहेको भिडियोमा देखिन्छ ।

तीजको यो गीत र भिडियो नेपाली तीज गीत र यसको परम्परालाई समेट्ने खालको छ । परम्परा पनि जोगाउँदै नाच्ने खालको गीत बनेको छ । डान्स गर्ने बिट र स्टेप रहेकाले आउँदा वर्षहरूका तीजमा पनि यो गीत बज्ने सम्भावना देखिएको छ ।

यस्तै, निर्माणपक्षले यो गीतमा टिकटक प्रतिस्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रतिस्पर्धा अगस्ट २० सम्म सहभागीले भाग लिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नुपर्ने छ । यसमा बेस्ट पर्फर्मेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ । ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।

पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

Skip This
Skip This
Logo