काठमाडाैं । साविक विजेता इंग्ल्याण्डकाे महिला टाेली युरो २०२५ को फाइनलमा प्रवेश गरेकाे छ । गएरातिकाे सेमिफाइनलमा इटालीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको हाे ।
रोमाञ्चक खेलमा इंग्ल्याण्ड लगभग प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो। अप्रत्याशित सेमिफाइनलिस्ट इटालीकी बारबरा बोनान्सेयाले पहिलो हाफकाे ३३औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएकी थिइन्।
दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेकी मिशेल अग्यामेङ्गले ९६ औं मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलिन बाध्य पारिन्। त्यसपछि सब्सटिच्युट केलीले ११९ औं मिनेटमा आफ्नो पेनाल्टी गोलकिपरले बचाएपछि रिबाउन्डमा आएको बललाई गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई विजय दिलाइन्।
सारिना विगम्यानको टोली लगातार तेस्रो ठूलो प्रतियोगिताको फाइनलमा पुगेको छ। सन् २०२२ को युरोपेली च्याम्पियन इंग्ल्याण्डले आइतबार बासेलमा हुने फाइनल खेल्नेछ। फाइनलमा उनीहरूको भेट सन् २०२३ को महिला विश्वकप फाइनलको प्रतिद्वन्द्वी स्पेन वा जर्मनीसँग हुनेछ। स्पेन र जर्मनीबीचको अर्को सेमिफाइनल खेल बुधबार हुनेछ।































प्रतिक्रिया