‘राजस्व वृद्धिका लागि करका दायरा विस्तार जरुरी’ : अर्थमन्त्री पौडेल

‘राजस्व वृद्धिका लागि करका दायरा विस्तार जरुरी’ : अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् । नवौं राष्ट्रिय कर दिवस ०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उदघाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताए ।

उनले कर परीक्षण, कर अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन , बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । यस्तै, करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई पनि निर्देशन दिए ।

उनले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरेका छन् । अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरुलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बावजुद आर्थिक वर्ष ०७६/७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरि कर सहभागिता जनाउनु हुने सबै करदातालाई धन्यवाद ज्ञापन गरे ।

उनले कोभिड महामारीको विषम परिस्थितिमा समेत आआफ्नो कार्यथलोमा अनवरत खटिएर कर्तव्य पालन गर्ने कर प्रशासन सम्वद्ध कर्मचारीलाई धन्यवाद दिए । अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमा झैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गरेका छन् । यस्तै कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचार प्रतिको शून्य सहनशीलताको नीतिलाई पालन गर्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागको चालु आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन ०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान हुने विश्वास पनि व्यक्त गरे । अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिबृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पुर्याएको बताए ।

Skip This
Skip This
Logo