त्रिपोली । लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक वस्तीमा छापा मारी शनिबार करिब एक हजार ५०० कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका छन्।
“शनिबारको अनुगमनमा कागजातविहीन विदेशी कामदार बस्ने घरहरू फेला परेका छन्। विभिन्न देशका यी कामदारहरूसँग आवासीय अनुमति, आधिकारिक राहदानी र स्वास्थ्यसम्बन्धी कुनै रेकर्ड थिएन,” उनले भने ।
लिबियामा सन् २०११ मा नेटो समर्थित विद्रोहमा लामो समयदेखि सत्तामा रहेका मोआमेर कद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछि लिबिया द्वन्द्वको चपेटामा परेको छ ।
त्रिपोलीस्थित प्रधानमन्त्री अब्देल हामिद देबेइबाको सरकार र पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनबीच देश विभाजित छ । इटालीबाट करिब ३०० किलोमिटर टाढा रहेको लिबिया समुद्रमा आफ्नो ज्यानको जोखिम मोलेर युरोप पुग्ने हजाराैं आप्रवासीका लागि प्रमुख ‘सुरुवात विन्दु’ बनेको छ ।
त्रिपोलीको पूर्वतिर लक्षित उक्त क्षेत्रमा अग्ला पर्खाल र ठूलो ढोकाले घेरिएको अस्थायी शिविरहरू रहेका छन् ।
अधिकांश इजिप्ट र उप–सहारा अफ्रिकी मुलु्कका सयौं आप्रवासीहरु त्यहाँ बसोबास गर्ने गरेको पाइएको अधिकारीहरूले बताएका छन् । भवन परिसरभित्र एउटा सानो किराना पसल, एउटा मार्सु पसल र तरकारी बिक्रेताहरू सुमेत रहेका देखिन्थ्यो ।
लिबियाली श्रममन्त्रीले भने, “उक्त स्थानमा ‘अनियमित आवास भेटिएको छ । त्यहाँ स्वास्थ्य र कार्यस्थल सुरक्षाको लागि आधारभूत आवश्यकताहरू पूरा गर्न असम्भव हुन्छ ।”
“पक्राउ परेका आप्रवासी कामदारलाई ‘गैर–कानुनी आप्रबासी नियन्त्रण अधिकारी’ले सञ्चालन गरेको शिविरमा स्थानान्तरण गरिनेछ र उनीहरूविरुद्ध राष्ट्रिय नियमअनुसार कानुनी कारबाही अघि बढाइनेछ,” आबेदले भने ।
ती आप्रवासीलाई तत्काल देश निकाला गर्ने वा नगर्ने भन्ने स्पष्ट भइसकेको छैन ।
यसै महिनाको सुरुमा ग्रीस, इटाली र माल्टाका एक आयुक्त र मन्त्रीहरू उत्तर अफ्रिकी देशबाट अनियमित आप्रवासनबारे छलफल गर्न लिबिया पुगेका थिए ।
इटालियाली तटमा पुग्नुअघि अन्तर्राष्ट्रिय जलक्षेत्रमा समेत लिबियाली अधिकारीहरूले रोकेका आप्रवासीहरूलाई जबर्जस्ती लिबिया फर्काइएको छ र संयुक्त राष्ट्रसङ्घले बारम्बार निन्दा गर्ने कठोर परिस्थितिमा हिरासतमा राखिएको छ। -एएफपी































प्रतिक्रिया