काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समावेश ‘कुलिङ अफ पिरियड’को प्रावधानमाथि जारी विवादमा नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा कटाक्ष गरेका छन्।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि कुलिङ पिरियडको सन्दर्भमा छानबिन हुनुपर्ने भनी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भट्टराईले उल्टै प्रचण्डमाथि नै छानबिन हुनुपर्ने आशय व्यक्त गरेका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले भनेका छन्, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो व्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होइन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की ? आफ्नै बोली आफैंलाई गलापासो नहोस!
‘
भट्टराईले २०८० फागुन ११ गते संसदमा विधेयक दर्ता हुँदा प्रचण्ड आफैं प्रधानमन्त्री रहेको र उनकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिएको स्मरण गराएका छन्। त्यो बेला विधेयकमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था नगरिएको भन्दै भट्टराईले यसले प्रचण्ड कुलिङ अफ पिरियडको पक्षमा नभएको स्पष्ट पार्ने दाबी गरेका छन्। उनले विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको ‘भूत’ कसरी जाग्यो भन्दै प्रश्न पनि उठाएका छन्।
भट्टराईले एमालेका सांसदहरू विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा रहेको र यो विषयको संशोधन पनि आफूहरूले नै राखेको स्पष्ट पारेका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले भनेका थिए, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने । शंकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रुपमा भन्ने आधार थिएन । अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’































प्रतिक्रिया