काठमाडौं

निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब दिन शनिबार मुलुकभर प्रदर्शन गरिएको छ । "/>

निर्मलाका हत्यारा अझै गुमनाम : न्याय माग्दै देशभर प्रदर्शन

निर्मलाका हत्यारा अझै गुमनाम : न्याय माग्दै देशभर प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निर्मला पन्तका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई दबाब दिन शनिबार मुलुकभर प्रदर्शन गरिएको छ । ‘सरकार , निर्मलालाई न्याय’ देऊ भन्दै राजधानी काठमाडौं सहित मुलुकका विभिन्न १९ सहरका २३ ठाउँमा स्वस्फुर्त प्रदर्शन गरिएको हो । प्रदर्शनमा हजारौं नागरिक सहभागी भए ।

घटनाको ५२ दिन बित्दा पनि प्रहरीले दोषी सार्वजनिक गर्न सकेको छैन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी निर्मलाको शव साउन ११ गते गाउँनजिकै उखुबारीको आहालमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

दोषीलाई जोगाउन प्रहरीले नै प्रमाण नष्ट गरेको आरोप लागिरहेका बेला खबरदारी गर्न सडकमा उत्रिएका हजारौं प्रदर्शनकारीले ‘न्यायका लागि जागौं– न्याय हाम्रो अधिकार, मौन बसेको सरकार–किन बढ्दैछ बलात्कार, निर्दोषलाई यातना–दोषीलाई उन्मुक्ति, ‘सरकारले देखायो लाचारी–त्यसैले हाम्रो खबरदारी’ सरकार देखाऊ इच्छा–खै त महिलाको सुरक्षा’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले प्रहरी नै दोषी उम्काउने खेलमा लागेकाले अनुसन्धान फितलो पारिएको आरोप लगाए ।

काठमाडौंमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर धर्नामा परिणत भयो । प्रदर्शनकारीले सडकमै बसेर दुई घन्टा धर्ना दिए । निर्मलाकी आमा दुर्गादेवीले न्याय पाउने आस फेरि पलाएको बताइन् । ‘काठमाडौंवासीले मेरो छोरीको हत्यारा पत्ता लगाउन दबाब दिनु भएको छ । न्यायका लागि लडिरहनु भएको छ । जसले गर्दा हत्यारा पत्ता लाग्छ भन्ने विश्वास छ’, दुर्गादेवीले भनिन्, ‘अब चाहिँ आस पलाएको छ ।’ न्याय माग्न काठमाडौं आएका निर्मलाका बाबुआमा यज्ञराज र दुर्गादेवी दुवै प्रदर्शनमा सहभागी भए ।

प्रदर्शनमा डा. गोविन्द केसी, लेखक खगेन्द्र संग्रौला, मानवअधिकारकर्मी चरण प्रसाईं लगायत लेखक, कवि, कलाकार, संस्कृतिकर्मी बुद्धिजीवीको सहभागिता थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रदर्शनमा ऐक्यबद्धता जनाए । शान्ति तथा मौन जुलुस भनिए पनि प्रदर्शनक्रममा अन्त्यतिर केही युवाले सरकारविरुद्ध चर्को नाराबाजी गरे ।

‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मलालाई न्याय दिलाउन राजधानीमा भएको विशाल प्रदर्शनप्रति सरकारको ध्यान जाओस्,’ मानवअधिकारकर्मी प्रसाईंले भने ।
नागरिकबाट

Logo