गजल सङ्ग्रह ‘जिलेटिनमा फूल’ दुर्गाप्रसाद ग्वालटारेको नवीनतम कृति हो । ग्वालटारेले साहित्यका कविता, गजल, लघुकथा जस्ता फरक फरक विधामा कलम चलाउँदै आउनु भएको छ । "/>

समीक्षा: जिलेटिनमा फूल

समीक्षा: जिलेटिनमा फूल

केन्द्रबिन्दु
0
Shares

गजल सङ्ग्रह ‘जिलेटिनमा फूल’ दुर्गाप्रसाद ग्वालटारेको नवीनतम कृति हो । ग्वालटारेले साहित्यका कविता, गजल, लघुकथा जस्ता फरक फरक विधामा कलम चलाउँदै आउनु भएको छ । उहाँ इन्जिनियरिङ र शैक्षिक नेतृत्वका विद्यार्थी हुनुहुन्छ । उहाँ अहिले काठमाडौँ विश्वविद्यालयबाट विद्यावरिधि गरिहनुभएका युवा विद्वान् प्रतिभा हुनुहुन्छ । उहाँका यसपूर्व ‘सारै चिन्तित छ किस्नेको बा’ (कवितासङ्ग्रह २०७१) र बोधिचित्तको खेती (लघुकथासङ्ग्रह २०७३) प्रकाशन भइसकेका छन् । उहाँको तेस्रो कृतिका रूपमा जिलेटिनमा पूmल हालै (गजलसङ्ग्रह २०७५) विमोचन भयो । गजल सिर्जनाका दृष्टिले यो उहाँको पहिलो कृति हो । यसमा गजलकार ज्ञानुवाकर पौडेलज्यूको भूमिका रहेको छ । यी गजलमा पाइने प्रमुख विशेषताहरू यस्ता छन्:

व्यङ्ग्य चेत : सभ्य र सुन्दर समाज निर्माणको चाहना, सामाजिक एवम् सांस्कृतिक चेत, आर्थिक दुरावस्थाको चित्रण, झर्रा एवं ठेट नेपाली शब्दको प्रयोग ।

१) व्यङ्ग्यचेत :

यस सङ्ग्रहका गजलले आंशिक रूपमा भए पनि व्यङ्ग्य चेतनालाई समेटेका छन् । जस्तै:

चक्कु भिरी रामनामीको खोल ओढ्ने को होला त्यो ?
उखेलेर तुलसीलाई अफिम गोड्ने को होला त्यो ?

यहाँ चक्कु बोकेर रामनामी भिर्नेलाई व्यङ्ग्य गरिएको छ । तुलसी उखेलेर अफिम रोप्ने पक्षलाई नङ्ग्याइएको छ । गजल सिर्जना यतिको विम्बात्मक भएर आउनु सुखद् पक्ष हो । अर्को उदाहरण लिऊँ :

शान्तिका लागि अस्त्र बेचिन्छन्
शरीर देखाउन वस्त्र किनिन्छन् ।

यहाँ शान्तिका नाममा शान्ति आउने नै काम नभएको अशान्ति फैलाउने । अस्त्र वेचेको र शरीर देखाउन वस्त्र किन्ने गरेको विरोधाभास पक्षमा व्यङ्ग्य गरिएको छ । अर्को व्यड्ग्यको नमुना यस्तो छ :

नफैल्याऊ खुट्टा तानिन सक्छ त्यो
नतन्काउ छाती डामिन सक्छ त्यो

गजललाई प्रेम प्रणयको विषयका रूपमा साँघुरो घेरामा बुझिरहेका सन्दर्भमा यतिको व्यङ्ग्य चेतको स्वाद पाउनुलाई मैले गजलको विकासको र सकारात्मक सिर्जन सामथ्र्यको रूपमा लिएको छु ।

२) सभ्य र सुन्दर समाज निर्माणको चेतना :
गजलकारले आफूसँग भएको स्रोतसाधनबाटै समाज सुधार गर्न सकिने, सभ्य र सुन्दर समाज निर्माण गर्न सकिने चेतना पाइन्छ यी गजलहरूमा । जस्तै :

आँट भए शिखर चढ्न पनि सकिन्छ
घोडा चढ्दा ड्याङ्ग लड्न पनि सकिन्छ
हीनता पालेर सफलता असम्भव

वैशाखीमै अघि बढ्न पनि सकिन्छ ।

यसो भन्नुको अर्थ स्रोत साधन कम भए पनि अगाडि जान सकिने सम्भावना हो ।

३) सामाजिक एवम् सांस्कृतिक चेत :

स्रष्टाका सिर्जनामा धेरथोर सामाजिक एवम् सांस्कृतिक चेतना हुन्छन् नै । यहाँ पनि केही यस्ता चेतना आत्मसात गर्ने रचना समेटिएका छन् । जस्तै :

विरक्तिँदो धून माग्छन् नयाँ गानाहरू

डाँको छोड्छन् इतिहासका रक्तिम पानाहरू

सांस्कृतिक चेतनाले स्रष्टाको परिचय दिन्छ । उहाँ यस्तो चेतनाका माध्यमबाट परिचय दिन सक्षम हुनुहुन्छ ।

४) आर्थिक दुरावस्थाको चित्रण:

नेपाली समाज आर्थिक दूरावस्थाबाट ग्रसित समाज हो । यस सङ्ग्रहका केही गजलले यस विषयलाई आफ्ना सिर्जनाको विषयवस्तु बनाएका छन् ।

भोक आँधी बन्न सक्छ भोकासँग होस गर
कागज गोली बन्न सक्छ, खोकासँग होस गर ।

यहाँ भोकबाट क्रान्ति जम्न नसक्ने विशिष्ट परिवर्तनको र द्वन्द्वको चेतना पनि समेटिएको छ ।

५ ) लोकलयात्मक चेतना:

केही गजलले लोकलय अन्तर्गत झ्याउरे र सवाई छन्दहरूलाई तिनका अनुशासनमा रहेर भावलाई पनि सजिलै व्यक्त गर्न सकेको देखिन्छ जस्तै:

गतिलो बोट रोपियो तर माटोले सहेन
फल्ला कि भन्थेँ स्वादिलो फल हाँगाले सहेन ।
पेटको ज्वाला निभाउँछु भन्दै जाँतोलाई जडेथेँ
घुमाउँदा जाँतो पिध्नलाई सामाल हातोले सहेन ।

यी गजलले गजलका रदिफ र काफिया प्रयोगका प्रारम्भिक सूत्र पूरा गर्दै केही विम्बात्मक र प्रतीकात्मक सामथ्र्य राखेका छन् । यहाँ झर्रा एवं ठेट नेपाली शब्दको प्रयोग प्रसस्त मात्रामा भएको छ । आज गजल लयमा हुनुपर्छ, बहरमै हुनुपर्छ र मुक्त लयमा पनि रचिन सक्छ भन्ने वहस चलिरहेको छ । मलाई लाग्छ शास्त्रीय लय वा लोकलय मध्ये एउटा गजल सिर्जनाको सही बाटो हो । यसले गजललाई गेय र दीर्घ प्रभावी बनाउँछ । गजलसङ्ग्रहलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो ।

Skip This
Skip This
Logo