काठमाडाैं । काठमाडाैंकाे बाफलमा अवस्थित रुपिज इन्टरनेशनल स्कुलद्धारा सञ्चालित ‘रुपिज मोडल युनाइटेड नेशन ७.०’ (आरएमयुएन) सम्पन्न भएको छ ।
स्कुलका कक्षा १० मा अध्ययनरत विद्यार्थी र हिरण्य इनिसिएटिभको संयुक्त आयोजनामा सम्पन्न ‘रुपिज मोडल युनाइटेड नेशन ७.०’मा विभिन्न स्कूलका १०० भन्दा बढी विद्यार्थीहरूले सहभागी जनाएका थिए ।
युवा विद्यार्थीहरूमा कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र सार्वजनिक भाषणको कौशल विकासमा महत्वपूर्ण योगदान पु-याउने उद्देश्यका साथ आयोजित ३ दिने रुपिज मोडल युनाइटेड नेशन ७.० को अन्तिम दिन सहभागी विद्यार्थीको प्रदर्शनलाई मूल्याङ्कन गरी ट्रफी, मेडल र प्रभाणपत्र प्रदान गरिएको थियो । ३ दिनसम्म चलेको यो कार्यक्रमले विद्यार्थीहरूलाई वैश्विक मुद्दाहरूमा गहन छलफल र रचनात्मक संवादको अवसर प्रदान गरेको थियो ।

‘रुपिज मोडल युनाइटेड नेशन ७.०’ को मुख्य उद्देश्य विद्यार्थीहरूलाई कूटनीतिक संवाद, नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि प्रेरित गर्नु रहेको थियो । यो कार्यक्रमले संयुक्त राष्ट्रसंघको सिमुलेसनमार्फत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति, छलफल र सहमतिको कला सिकाउने अवसर प्रदान गरेको थियो ।
कार्यक्रममा युएनएससी (संयुक्त राष्ट्र सुरक्षा परिषद), डाइसेक (निरस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति), इ कफिन (आर्थिक र वित्तीय समिति), इकोसक (आर्थिक र सामाजिक परिषद), युएनएससी डब्लु (महिला सम्बन्धी समिति), एफपीएन (फ्युचर पोलिसी नेटवर्क), युएस सेनेट र आइबी (इन्टरनेसनल ब्याकलोरिएट) गरी आठवटा समूह (कमिटी) गठन गरिएको थियो । प्रत्येक समूहलाई एउटा देशको प्रतिनिधित्व गर्दै विशिष्ट एजेण्डा प्रदान गरिएको थियो, जसमा सहभागीहरूले आफ्नो देशको नीति र दृष्टिकोण प्रस्तुत गरेका थिए ।

कार्यक्रममकाे पूर्ण रूपमा विद्यार्थीहरूले नै सञ्चालन र व्यवस्थापन गरेका थिए । आयोजनाका लागि विद्यार्थीहरूले क्रिएटिभ डेकोरेसन, फाइनान्स म्यानेजमेन्ट र मिडिया समन्वय जस्ता विभिन्न जिम्मेवारीहरू लिएका थिए ।

यो कार्यक्रमले विद्यार्थीहरूलाई वैश्विक मुद्दाहरूमा संलग्न हुन, रचनात्मक समाधान प्रस्तुत गर्न र आत्मविश्वासका साथ आफ्ना विचार व्यक्त गर्न प्रेरित गरेको छ । आयोजकले यो कार्यक्रमलाई आगामी वर्षहरूमा अझ ठूलो र प्रभावकारी बनाउने योजना बनाएका छन् । नेपालका युवाहरूलाई विश्व मञ्चमा नेतृत्व गर्न सक्षम बनाउने दिशामा यो कार्यक्रमले महत्वपूर्ण कदम पनि चालेको छ ।





























प्रतिक्रिया