काठमाडाैं । ब्राजिल कोपा अमेरिका फेमेनिनाकाे फाइनलमा प्रवेश गरेकाे छ । भर्खरै सम्पन्न सेमिफाइनल खेलमा ब्राजिलले उरुग्वेलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हाे ।
खेलको सुरुदेखि नै ब्राजिलियन टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेमाथि दबाब कायम गरेको थियो।
ब्राजिलका लागि आक्रामक सुरुवात गर्दै अमान्डा गुटिएरेजले ११ औं मिनेटमा पहिलो गोल गरिन्। त्यसको लगत्तै १३ औं मिनेटमा जिओ गारबेलिनीले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारिन्। खेलको २७ औं मिनेटमा अनुभवी खेलाडी मार्ताले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई ३-० को बलियो स्थितिमा पुर्याइन्।
दोस्रो हाफमा उरुग्वेले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। खेलको ५१ औं मिनेटमा इसा हासले आत्मघाती गोल गरेपछि ब्राजिलको अग्रता अझ बढ्यो। उरुग्वेका लागि ५८ औं मिनेटमा यामिला मारियाना डोर्नेलेस अल्भेजले सान्त्वना गोल फर्काएकी थिइन्। यद्यपि, ब्राजिलको गोल वर्षा रोकिएन र खेलको ८६ औं मिनेटमा दुडिन्हाले गोल गर्दै ब्राजिललाई ५-१ को जित दिलाइन्।
यो जितसँगै ब्राजिलले कोपा अमेरिकाको फाइनलमा काेलम्बियासँग खेल्ने भएकाे छ ।































प्रतिक्रिया