तार्केश्वरमा यस्तो विद्यालय निर्माण हुँदै, जहाँ जेष्ठ नागरिकहरु गाडी चढेर पढ्न जानेछन्

तार्केश्वरमा यस्तो विद्यालय निर्माण हुँदै, जहाँ जेष्ठ नागरिकहरु गाडी चढेर पढ्न जानेछन्

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । स्कुल बालबालिकाका लागि स्थापना गरिन्छ, विश्वविद्यालय युवाहरुको लागि खोलिन्छ । के तपाईले सुन्नुभएको छ कतै जेष्ठ नागरिकका लागि पनि स्कुल खोलिएको छ भनेर ? अवश्य पनि सुन्नु भएको छैन । हामी यस्तो युगमा प्रवेश गरेका छौं, भविष्य निमार्णका लागि काममा व्यस्त हुनुपरेको छ । घरमा वृद्धवृद्धा भएका बुवाआमाको रेखदेख गर्ने फुर्सद छैन । कुरा सुनिदिने फुर्सद छैन । भावना बुझिदिने फुर्सद छैन ।

यस्तो बेलामा जेष्ठ नागरिकलाई कसरी समय बिताउने भन्ने कुराले पिरोल्ने गर्छ । दिन बिताउनका लागि चौतारा मठमन्दिर तिर दौतरी खोज्दै हिँड्नुपर्छ । ति दौतरीहरु सधै उहीं स्थानमा नभेटिन सक्छन् । त्यसैलाई मध्यनजर गरि तार्केश्वर नगरपालिकाले जेष्ठ नागरिक स्कुल निर्माण गर्ने भएको छ, जहाँ जेष्ठ नागरिकहरुलाई घरमै बसले लिन आउने छ र दिनभरी स्कुलमै जेष्ठ नागरिहरु समय बिताउने छन् । बेलुका फेरि स्कुल बसले नै घरमा छोडिदिनेछ ।

कसरी भयो जेष्ठ नागरिक स्कुलको परिकल्पना ?

व्यस्त शहरिया जीवन, जेष्ठ नागरिकको भावनालाई सम्बोधन गर्ने कुनै ठाउँ नहुनु आजको युगको मुख्य समस्या बनेको छ । घरघरमा सिंहदरबार भन्ने उदेश्यका साथ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना भएको थियो तर जुन उदेश्यका साथ उक्त व्यवस्था लागू भयो, जनताले घरघरमा सिंहदरबार भन्ने महसुस भने गर्न पाएका छैनन् । तर तार्केश्वर नगरपालिकाले भने यसलाई आत्मसात गर्दै काम गर्ने गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधारमा उल्लेखनिय विकास गरिरहेको नगरपालिकाले जेष्ठ नागरिकको भावनालाई सम्बोधनका लागि जेष्ठ नागरिक स्कुल स्थापना गर्न लागेको हो ।

नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले संघिय सरकारको विशेष अनुदानमा जेष्ठ नागरिक स्कुलको स्थापना गर्न लागिएको बताइन् । उनले भनिन्, ‘जेष्ठ नागरिक स्कुल भनेको अन्य स्कुल जस्तो पुस्तक लिएर जाने होइन । कामको व्यस्तताका कारण छोराछारी वा छोराबुहारीले आमाबुवालाई एक्लै छोडेर जानुपर्ने बाध्यता छ । अब भने नगरपालिकाका जेष्ठ नागरिकहरु घरमा एक्लै बस्नुपर्ने छैन । ’

उनले थपिन्, ‘बिहान बसले नै उहाँहरुलाई लिन जानेछ, दिनभरी स्कुलमा भजन किर्तन गरेर बस्नुहुनेछ । गफ गरेर बस्नुहुनेछ र बेलुका फेरि बसले नै घरमा पु-याइदिनेछ । स्कुलमा जेष्ठ नागरिकहरुको हेरचाहका लागि चिकित्सक नर्स र अन्य सहयोगीको पनि व्यवस्था हुनेछ ।’

२०८१ मंसिर १३ गते पहिलो भवनको शिलान्यास भएको थियो । जुन नगरपालिकाको वडा नम्बर ६ स्थित पैंयुटार, बङ्गलामुखी मन्दिर नजिक जेष्ठ नागरिक स्कुलको पहिलो भवन बनिसकेको छ । त्यसैगरी दोस्रो भवनको २०८२ जेठ ५ गते भएको थियो । अहिले भवन बनाउने काम तिब्र रुपमा भैरहेको छ ।

कस्तो हुनेछ भवन ?

नगरपालिकाले जेष्ठ नागरिक स्कुलका लागि दुई वटा भवन निर्माण गर्न लागेको छ । एउटा भवनको निर्माण सम्पन्न भैसकेको छ भने दुई तलाको दोस्रो भवनको निर्माण कार्य जारी छ । यथासिघ्र भवन निर्माणको काम सम्पन्न गरी स्कुल सञ्चालन गर्ने योजना नगरपालिकाको रहेको छ ।

दुई तलाको हुने उक्त स्कुल पूर्ण रुपमा जेष्ठ नागरिक मैत्री हुने नगरपालिका प्रवक्ता राधाकृष्ण खड्कीले जानकारी दिए । उनले भने, ‘भवन सुविधा सम्पन्न हुनेछ त्यहि अनुसारको बाथरुम, व्हीलचेयर पहुँच, न्यानो बैठक कोठा, मनोरम वातावरण, चिकित्सक र नर्सको व्यवस्था जस्ता अन्य सेवा सुविधाहरु हुनेछ ।’

क– कसले पाउने छन् विद्यालय जान ?

याे विद्यालय देशैभरका जेष्ठ नागरिकको लागि हाे। नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीका अनुसार तार्केश्वर नगरपालिकामा जेष्ठ नागरिकको सङ्ख्या दुई हजार भन्दा बढिरहेको छ । ‘७७ जिल्लाकै नागरिक पनि देशभित्रका नागरिक हुनुहुन्छ । हाम्रो नगरमा आएर बसोबास गर्नुभएको छ भने उहाँलाई त्यो सेवाबाट हामी बञ्चित गराउँदैनौं,’ उनले भने । जेष्ठ नागरिक स्कुल निःशुल्क हुने पनि उनले जानकारी गराए ।

शिक्षा सुधारमा अरु के-के छन् नगरपालिकाको योजना ?

शिक्षा क्षेत्र विकासका लागि, गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले विभिन्न नीति तथा योजना लिएको छ । नगरपालिकाले व्यवहारिक शिक्षा, भौतिक पूर्वाधार, दरबन्दी पूर्तिमा विशेष ध्यान दिएको र तार्केश्वर नगरपालिकालाई शैक्षिक हव बनाउने योजनाका साथ काम गरिरहेको नगर प्रवक्ता खड्गीले बताए ।

तार्केश्वरमा ३० वटा सामुदायिक विद्यालय रहेको छ । संस्थागत विद्यालयहरु ६५ वटा तथा मन्टेश्वरीहरु २० वटाको हाराहारीमा रहेको छ । पहिला शिक्षामा १ करोडको बजेट रहेको थियो, त्यसलाई वृद्धि गरेर नगरपालिकाले १० करोडमा पु-याएको छ । नगरपालिकाले अर्काे एउटा काम प्रत्येक सामुदायिक विद्यालयमा संस्थागत विद्यालयसँग कम्पिटिसन गर्न सक्नुपर्छ भन्ने उदेश्यका साथ अगाडी बढिरहेको छ । सामुदायिक विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीहरु पूरा गरेको छ । शिक्षकहरुलाई प्रोत्साहन, भ्रमण भत्ता दिने, शिक्षकको दरबन्दी थप्ने गर्ने गरेकाे छ, जसका कारण तार्केश्वर नगरपालिकाको नतीजा पहिला ५६ प्रतिशत रहेको थियो भने अहिले ७९ प्रतिशत पुगेको छ । नगरपालिकाले शिक्षकहरुलाई मात्र नभई विद्यार्थीलाई पनि प्रोत्साहित गर्ने गरेको छ ।

२०८१ म एसईईमा सामुदायिक र संस्थागत गरि २० जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए । विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि कम्प्युटर र एक एक लाख नगद पुरस्कार वितरण गरेको थियो । त्यसैगरी नगरपालिकाले बाली विज्ञानदेखि इन्जिनियरिङका शैक्षिक कार्यक्रम पनि सुरु गरेको छ ।

Logo