कञ्चनपुरकी १३ बर्षीय किशोरी निर्मला पन्तका बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नहरुको खोजी र कारबाहीका लागि आज सडक र सदन दुवैतर्फ चर्को बिरोध भएको छ ।
अनुसन्धानमा हेलचेक्र्याइँ भैरहेको र अपराधीलाई संरक्षण दिएको भन्दै कञ्चनपुरका स्थानीयले आज महेन्द्रनगर बजारमा थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । खाना खाने थाल र चम्चासहित सडकमा उत्रेका महिलाहरुले सरकारले आफुहरुको आवाज नसुनेको भन्दै थाल ठटाएका हुन् ।
त्यस्तै आज बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले घटनामा संलग्नलाई पक्राउ गरि कारबाही नगरेको भन्दै संसद अबरोध गरे । उनीहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गरे । कांग्रेसकी हिरा गुरुङले भनिन्, ‘सरकार नै बलात्कारीलाई जोगाउन लागेकोमा शंका गर्नु पर्दैन । अपराधी सत्तासिन पार्टीको पहुँच भएको व्यक्ति हो कि भनेर जनताले भन्न थालेका छन् ।’ कांग्रेसको अबरोधपछि स्थगित गरिएको संसद बैठक भोलि गृहमन्त्रीले जवाफ दिने प्रतिबद्धतापछि सुचारु भएको थियो ।
पढ्नका लागि साथीको घर गएका निर्मलाको उखुबारीमा शव भेटिएको थियो । घटनाको मुख्य आरोपित भनेर प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेका थिए तर स्थानीयले बिष्ट आरोपित हुने नसक्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा एक जना बालकले ज्यान गुमाए भने केही अघि घाइते अबस्थामा छन् ।
घटनाको छानविन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ ।
यसै क्रममा मुख्य आरोपित भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डीएनए टेस्ट फेल भएपछि उनलाई मंगलबार रिहा गरिएको छ । मंगलबार नै निर्मला पढ्न गएको घरका बम दिदीबहिन रोशनी र बबितालाई पनि प्रहरीले छाडेको छ ।
अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै एसपी डिल्लीराज विष्टलाई निलम्बन गरिएको छ । यद्यपि निर्मलाका अभिभावकले भने एसपी विष्टकै डीएनए टेस्ट गर्नुपर्ने बताउदै आएका छन् ।





























प्रतिक्रिया