काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी)को दुनियाँमा डोङफेङ ईभी पनि आफुलाई स्थापित गर्ने प्रयासमा रहेको छ । ईभी बजारमा चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङले आफ्नो उपस्थिति फराकिलो पार्दै लगेको छ ।
नेपालमा डोङफेङ ईभीको बिक्री वितरण विभिन्न सहायक कम्पनीहरू मार्फत भइरहेको छ । मुख्यतया, एमएडब्लु बृद्धि अटोकर्पले डोङफेङको प्यासेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गतको नामी ब्रान्ड को बिक्री गरिरहेको छ ।
यसैगरी, लक्ष्मी ई–मोबिलिटीले डोङफेङ फर्थिङ ब्रान्डका ईभीहरू भित्र्याउँदैछ । यसका साथै, त्रिवेणी मोटोकर्पले पनि डोङफेङका इलेक्ट्रिक गाडी र कार्गाे भ्यानहरूको बिक्री सुरु गरेको छ । डोङफेङ नामी ०१ नाडा अटो शो २०८१ बाट व्यावसायिक रूपमा बिक्री सुरु भएको हो । लक्ष्मी ई–मोबिलिटीले फर्थिङ फ्राइडे ईभी २०८२ बैशाखबाट ग्राहकको माझ ल्याएको छ । त्रिवेणी मोटोकर्पले सन् २०२४ को जुनमा डोङफेङ ईभीका शोरुम खोलेर बिक्री सुरु गरेको हो ।
नेपालमा अहिले डोङफेङको ३ वटा मोडलहरु उपलब्ध छन् । ति हुन्, डोङफेङ नामी ०१, डोङफेङ फर्थिङ फ्राइडे र डोङफेङ इलेक्ट्रिक भ्यान ।
अब चर्चा गरौं कुन मोडलको विशेषता कस्ताे ?
नामी ०१ –
यो एक कम्प्याक्ट ह्याचब्याक ईभी हो जसलाई प्रिमियम फिचरका साथ बजारमा ल्याइएको छ। यो मुख्यतया तीन भेरिएन्ट मा उपलब्ध छ, ई१, ई२, र ई३१ नामी ०१ ई१ (३१.४ किलोवाट आवर)को मूल्य ३० लाख २४ हजार पर्छ, नामी ०१ ई२ (३१.४ किलोवाट आवर )को मूल्य ३२ लाख ४९ हजार (सिंगल टोन) र ३२ लाख ९९ हजार (डुअल टोन) त्यसैगरि नामी ०१ ई३ (४२.३ किलोवाट आवर) को मूल्य ३५ लाख ९९ हजार (सिंगल टोन) र ३६ लाख ४९ हजार (डुअल टोन), त्यसैगरि नामी ०१ ई३ (४२.३, ५० किलोवाट आवर) को मूल्य ३४ लाख ७९ हजार (सिंगल टोन) र ३५ लाख २९ हजार (डुअल टोन) मूल्य पर्ने गर्छ । यसमा ३१.४ किलोवाट आवर र ४२.३ किलो वाट आवर क्षमताका ब्याट्री विकल्पहरू उपलब्ध छन् । डब्लुएलटिपी साइकल अनुसार २३७ किलोमिटर (३१.४ किलोवाट आवर ) र ३१७ किलोमिटर (४२.३ किलोवाट आवर ) सम्मको रेन्ज दिने गर्दछ ।
नामी ०१ को फ्रेमलेस ढोका, फ्लश ह्यान्डलहरू (बाहिरबाट नदेखिने ढोकाको ह्यान्डल) र आधुनिक डिजाइन रहेको छ । ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र १२.८ इन्चको फ्लोटिंग सेन्ट्रल टचस्क्रिन रहेको छ । यसमा सेल्फ – पार्किङ असिस्ट र ३६० डिग्री प्यानोरामिक क्यामेरा जस्ता फिचरहरू पनि उपलब्ध छन् (उच्च भेरिएन्टमा) । एयरब्याग,एबिएस, ईबिडी, ब्रेक असिस्ट, ट्राक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट जस्ता सुरक्षा फिचरहरू छन्। । उच्च भेरिएन्टमा एडिएएस फिचरहरू जस्तै फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), लेन किपिङ असिस्ट (एलकेए) र रोड ट्राफिक साइन रिकग्निसन (आरटीएसआर) पनि रहेको छ । डिसी फास्ट चार्जर प्रयोग गरी ३० मिनेटमा ३० प्रतिशत बाट ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।
फर्थिङ फ्राइडे ईभी
यो एक एसयुभी मोडल हो जुन ई – मोबिलिटीले नेपालमा ल्याउँदैछ । यो दुई वटा भेरियन्टमा उपलब्ध रहेको छ, अक्जरी र एक्सल्कुसिभ । यसमा लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९६ हजार र एक्सल्कुसिभ भेरियन्टको ६२ लाख ९६ हजार पर्ने अनुमान गरिएको छ ।
यसमा ६४.४ किलोवाट क्षमताको ब्याट्री प्याक हुनेछ । यसले सिंगल चार्जमा ४०० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । त्यसैगरि ९९ किलोवाट क्षमताको मोटर हुनेछ । भेन्टिलेटेड, हीटेड, मसाज र मेमोरी सिट जस्ता प्रिमियम फिचरहरू यसमा उपलब्ध छन् ।
डोङफेङ इलेक्ट्रिक भ्यान
त्रिवेणी मोटोकर्पले प्यासेन्जर र कार्गाे दुवै प्रकारका इलेक्ट्रिक भ्यानहरू बिक्री गरिरहेको छ । यो ११ – सिटे र १४– सिटे यात्रुवाहक भ्यानका साथै ४.५ र ५.३ क्यूबिक मिटरका कार्गाे भ्यानहरू उपलब्ध छन् । ११– सिटे भ्यानको ५० किलोवाट मोटर र ४२ किलोवाट आवर लिथियम ब्याट्री प्याक रहेको छ । १४– सिटे भ्यानमा ८० किलोवाट मोटर र ५० किलोवाट ब्याट्री प्याक रहेको छ । यसले ४० किमी प्रति घण्टाको गतिमा ३०० किलोमिटर रेन्ज दाबी गरिएको छ । वास्तविक परीक्षणमा २५० किलोमिटर रेन्ज प्राप्त भएको कम्पनीको भनाइ छ ।
डोङफेङले नेपाली ईभी बजारमा विभिन्न मोडलहरू मार्फत उपभोक्ताहरूलाई फरक–फरक विकल्पहरू प्रदान गरिरहेको छ, जसले गर्दा बजारमा यसको पहुँच र लोकप्रियता बढ्दै गएको छ ।































प्रतिक्रिया