‘केसीसी एक्जिबेट २०२५’ सुरु, ६ हजारभन्दा बढी दर्शकको उपस्थिति, प्रविधिमा नवाचार र डिजिटल नेपाल निर्माणमा जोड

‘केसीसी एक्जिबेट २०२५’ सुरु, ६ हजारभन्दा बढी दर्शकको उपस्थिति, प्रविधिमा नवाचार र डिजिटल नेपाल निर्माणमा जोड

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी)ले आयोजना गरेको ‘केसीसी एक्जिबेट २०२५’ शुक्रबारबाट सुरु भएको छ । कार्यक्रमको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् ।

उद्घाटन समारोहमा मन्त्री गुरुङले नेपाल सूचना प्रविधि (आईटी) क्षेत्रमा पछि परेको उल्लेख गर्दै “जनशक्ति उत्पादन र व्यवस्थापन” मा प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार, विश्वका धेरै देशहरू आईटी क्षेत्रमा द्रुत गतिमा अगाडि बढिसकेको अवस्थामा नेपालले ढिलो गर्न नहुने स्पष्ट गर्दै आईटी जनशक्ति व्यवस्थापनको खाँचो औँल्याए।

उनले भने, “आइटी क्षेत्रमा जनशक्ति उत्पादन गरेर वृद्धि गर्न आवश्यक छ। यसमा विश्वका धेरै मुलुकहरू अघि बढिसकेका छन्। हाम्रोमा धेरै ढिला भइसकेको छ। त्यसैले अब जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।”

मन्त्री गुरुङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोगलाई स्वास्थ्य, शिक्षा र सरकारी सेवा मा व्यापक बनाउनुपर्ने बताए। “एक महिना लाग्ने काम एक दिनमा, एक घण्टा लाग्ने काम दश मिनेटमा सकिन्छ। त्यसले गर्दा सेवाप्रवाह छिटो हुन्छ र भ्रष्टाचार पनि घट्छ,” मन्त्री गुरुङले स्पष्ट पारे। आजको दिन मात्रै ६ हजारभन्दा बढी दर्शकहरूको सहभागिता भएको छ। प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित नवप्रवर्तनमूलक परियोजनाहरू प्रदर्शनमा राखिएका छन्। दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेका थिए .

विशेष अतिथि तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा. रवीन्द्र प्रसाद ढकालले आफ्नो मन्तव्यमा गत वर्षको तुलनामा नाष्टमा बजेट कटौती भएको उल्लेख गर्दै यसको असर अनुसन्धान र प्रविधिमा देखिएको बताए। उनले इन्जिनियरिङ् शिक्षालाई नवप्रवर्तनमुखी बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्याल, क्यान महासंघकी अध्यक्ष श्रीमती सुनैना घिमिरे पाण्डे, र म्यानका महासचिव इन्द्र कुमार श्रेष्ठले कृत्रिम बौद्धिकता र सूचना प्रविधिले समाज रूपान्तरण गर्ने शक्तिका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे।

उनीहरूले शिक्षाको पहुँच, जनसेवामा सहजता, तथा डिजिटल ट्रान्सफर्मेसन लाई प्रोत्साहन गर्न युवाहरूको प्रविधिमा आधारित नवाचारलाई संस्थागत रुपमा समर्थन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमकै अवसरमा मन्त्री गुरुङले नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्राधिकरणलाई यथाशीघ्र फाइभ जी नेटवर्क सुरु गर्न निर्देशन दिएका छन्। उनले “फोर जी सबैको घरमा पुग्नुपर्छ, नत्र डिजिटल सुशासनको उद्देश्य अपूर्ण रहन्छ” भनेका थिए।

त्यस्तै, राजमार्ग र पर्यटकीय क्षेत्रमा नेटवर्क समस्या समाधान गर्न आग्रह गर्दै, टेलिकमको प्रचारप्रसार अभाव रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्यमा टेलिकमको सेवा विस्तार र जनचेतना अभिवृद्धिमा ध्यान दिनु पर्ने सुझाव समेत दिएका छन्।

केसीसी एक्जिबेट २०२५ ले सूचना प्रविधि, कृत्रिम बौद्धिकता, नवप्रवर्तन र डिजिटल पूर्वाधारको महत्वपूर्ण बहसलाई अघि सारेको छ। कार्यक्रमले नेपालमा प्रविधिमैत्री शिक्षा, नीति र कार्यान्वयनको खाँचो औंल्याउँदै भविष्यको दिशातर्फ संकेत गरेको छ।

Logo