काठमाडौं
वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहालीसँग सर्वोच्च फर्केका हुन् ।
प्रधानन्यायाधीश मिश्रले मंगलबार जोशीलाई पेशी नतोकेपछि उनको आगमन थप जिज्ञासाको विषय बनेको छ । अरु सबै न्यायाधीशलाई भने मुद्दा सुनुवाइका लागि पेशी तोकिएको थियो । तत्कालीन कामु प्रधानन्यायाधीश जोशी संसदीय समितिबाट अनुमोदन नभएपछि उनले राजीनामा गर्ने अनुमान गरिएको थियो । तर जोशी लामो घरबिदा बसेर सोमबार देखि सर्वोच्च फर्केका हुन् ।
मंगलबार कार्यालय पुगे पनि न्यायसम्पादनको जिम्मेवारी नतोकिएपछि जोशी हाजिरी पुस्तिकामा हस्ताक्षर गरेर बेलुका यत्तिकै घर फर्किए । सोमबार भने जोशीले आफू मुद्दा सुनुवाइमा सहभागी हुने भनाइ राखेका थिए ।
प्रधानन्यायाधीश मिश्र जोशीका विषयमा ‘पर्ख र हेर’को अवस्थामा छन् । सर्वोच्चका एक न्यायाधीशका अनुसार सर्वोच्चकै कतिपय न्यायाधीशबाट जोशीबारे ‘पुनर्विचार गर्न’ सुझाव दिइएको छ । मर्यादाक्रममा माथि रहेका केही न्यायाधीशले जोशीलाई ‘वरिष्ठ’ को हैसियतमा इजलासको जिम्मेवारी दिँदा बाहिर जाने सन्देशको ख्याल राख्न प्रधानन्यायाधीश मिश्रलाई सुझाएका थिए ।
उनीहरूले इजलासमा मर्यादाक्रमको विषयमै जटिलता आउन सक्ने भन्दै सुझाव दिएका छन् । जोशी नवनियुक्त प्रधानन्यायाधीशलाई स्वागत गर्न चेम्बरमा देखेपछि केही न्यायाधीश सोमबार चाँडै बाहिरिए । ‘कतिपय श्रीमानको इजलासमासँगै बस्दा वरिष्ठताक्रममा अफ्ठ्यारो पर्छ कि भन्ने आशय थियो,’ सर्वोच्चका ती न्यायाधीशले भने, ‘उहाँहरूले बाहिरी परिस्थितिको पनि मूल्यांकन गर्न भन्नु भयो । अरु अफ्ठ्यारा पनि आइपर्न सक्ने कुरामा उहाँहरूको सरोकार रह्यो । तर जवाफमा प्रधानन्यायाधीशले मुन्टो मात्र हल्लाउनु भो । यसबारे कुनै प्रतिक्रिया आएन ।’
अन्नपूर्णबाट































प्रतिक्रिया