काठमाडौं
हरितालिका (तीज) मा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन वटा मार्गको व्यवस्था गरिएको छ ।
मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिणस्थित जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ । जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने व्यवस्था गरिएको मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
यसैगरी तेस्रो मार्ग वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटो भन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजे देखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिने कोषका सदस्यसचिव डा ढकालले बताउनुभयो । मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरिने जनाइएको छ ।
श्रीयन्त्रको पूजा र महाभोग लगाउने बेलामा भने दर्शन एवं पूजाका लागि मन्दिरको ढोका बन्द गरिने कोषले जनाएको छ । तीजका दर्शनार्थीको भीड बढी हुने भएकाले महँगा गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन कोषले भक्तजनलाई आह्वान गरेको छ ।
पशुपतिको नियमित दर्शन गर्नेका लागि बिहान ६ बजे अगावै भुवनेश्वरी चोकस्थित सानो फलामे ढोकाबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । तीजका अवसरमा आजै देखि चार वटै सुरक्षा निकाय र कोषका सुरक्षाकर्मी समेतको एकीकृत सुरक्षा योजना बनाई कार्यान्वयन शुरु भएको छ ।
दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरिएको छ ।
स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, सरसफाइ तथा जुत्ताचप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन लगायत सम्पूर्ण तयारी पूरा गरिएको कोषले जनाएको छ । मेला क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । वडा कार्यालयले जारी गर्ने पासका आधारमा स्थानीयवासीका सवारी आउन जान दिइने जनाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरितालिका तीजको अवसरमा बुधबार महिलालाई सहजरुपमा पशुपति मन्दिर दर्शन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई सहज बनाएको छ ।
महाशाखाले पशुपति क्षेत्रभित्र सहज दर्शन गर्नका लागि तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिल जान रोक लगाएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करलाई पनि रोक लगाएको हो ।
यसैगरी पशुपति दर्शनका लागि जाने तीर्थयात्रीलाई तिलगङ्गा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारीसाधनलाई गौशाला प्रभाग, पासवाला सवारीसाधनलाई कोषको कार्यालय, भारतीय दर्शनयात्रीलाई अमालकोट चौर र स्वदेशी तीर्थयात्रीलाई सिफलचौरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकरी दिनुभयो ।
यस्तै बानेश्वर तीनकुने भएर गौशाला जाने सवारीसाधन सोही रुटबाट फिर्ता हुने, रातोपुल गौशाला हुँदै बौद्ध चल्नेलाई जमल, नारायणगोपालचोक चावहिल हुँदै जाने, नयाँ बसपार्क चावहिल हुँदै जानेलाई सोही रुट फिर्ताको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसैगरी रत्नापार्क आउनेलाई पनि सोही रुट जाने व्यवस्था मिलाइएको छ ।
रासस





























प्रतिक्रिया