काठमाडौं । यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो ।
२०८२ वैशाख २१ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १ लाख १५ हजार परीक्षार्थी छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी पनि परीक्षामा सहभागी थिए । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजारले परीक्षा दिएका थिए । मनाङ÷मुस्ताङमा १÷१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो । जेठ २ गते परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण लगायतको काम तीव्र गतिमा सुरु भएको थियो ।
नतिजा सार्वजनिक भएसँगै अब कतिपयमा नतिजा कसरी हेर्ने भन्ने पनि अन्यौलता देखिन्छ । त्यसको बारेमा पनि हामी चर्चा गर्नेछौं । बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।
यद्यपी राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np र नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत आफ्नो नइबी सिम्बोल नं. टाइप गरेर नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने बताइएको छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत स्टार १६०१ ह्यास नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।





























प्रतिक्रिया