काठमाडौँ
साझा प्रकाशन माथि एक करोड रुपैयाँ बराबरको कागज हिनामिना गरेको आशंकामा छानबिन भइरहेको छ । साझालाई चालु शैक्षिक सत्रमा ६० हजार पुस्तक छपाइका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले एक करोड रुपैयाँ बराबरको कागज उपलब्ध गराएको थियो । तर साझाले पुस्तक प्रकाशन गर्न दिएको कागजको विवरण जनक शिक्षालाई उपलब्ध गराएको छैन ।
साझा र जनक शिक्षा बीच आर्थिक लेनदेन र हिसाब मिलान गर्न गठित समितिले भ्रष्टाचार आशंकामा छानबिन गरिरहेको हो । समितिमा शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, साझा प्रकाशनका होम भट्टराई र जनक शिक्षाका तिलबहादुर अधिकारी छन् ।
‘विवरण उपलब्ध नभएको कागजबारे अनुसन्धान भइरहेको छ,’ उपससचिव निरौलाले भने । समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ । साझा प्रकाशनले एक करोड मूल्य बराबरको कागजको हिसाब बुझाउन नसकेकाले त्यस विषयमा छानबिन भइरहेको निरौलाले बताए ।
यता साझाबाट अवकाश पाएका एक सय २८ जना पूर्वकर्मचारीले साउन १ गते देखि थालेको आन्दोलन जारी राखेका छन् । उनीहरूले अवकाशपछि पाउनु पर्ने उपदान लगायतका सेवासुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेका छन् । पूर्वकर्मचारीहरूलाई साझाका तत्कालीन अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले असार मसान्त सम्म सेवासुविधा दिने लिखित प्रतिबद्धता गरेका थिए । असार मसान्तसम्म सेवासुविधा दिन नसके अवकाश प्राप्त कर्मचारीलाई करारमा नियुक्त गर्ने प्रतिबद्धता उनको थियो ।
नागरिकबाट































प्रतिक्रिया