काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ ।
महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभइ नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियानका रूपमा मनाउन लागेको जनाएको छ ।
नेफिनका अध्यक्ष निमा ह्योल्मो लामाले खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागिता गराई दिवसलाई अधिकार प्राप्तिको सशक्त आन्दोलनका रूपमा स्थापित गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले नेपालका आदिवासी जनजातिको एकता, विविधता र साझा अधिकारको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने छ ।
‘यो पटकको विश्व आदिवासी दिवस नेपालले मात्र हेर्ने नभइकन विश्वलाई एउटा सन्देश दिने किसिमले तयारी गरिरहेका छौं,’ उपाध्यक्ष तथा प्रचार तथा प्रसार समितिका संयोजक अमृतबहादुर सुनुवारले भने । उनका अनुसार यसपटक आदिवासी दिवस साँस्कृतिक र खानाका परिकारको महोत्सवको रूपमा आयोजना हुने बताए ।
महासंघका महासचिव विमल सारु मगरले यस वर्ष दिवसलाई नयाँ शैलीमा आयोजना गर्न खुलामञ्च रोजिएको बताए । काठमाडौं उपत्यकामा मात्रै करिब २० लाख आदिवासी जनजातिको बसोबास रहेको उल्लेख गर्दै उनले कम्तीमा ३५ हजार सहभागी उपस्थित गराउने लक्ष्यका साथ व्यापक तयारी भइरहेको जानकारी दिए ।
महासंघका अनुसार तयारीलाई प्रभावकारी बनाउन २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । विभिन्न जातीय सदस्य संस्था, प्रदेश तथा जिल्ला समन्वय समितिहरू, युवा, महिला, विद्यार्थी तथा सांस्कृतिक समूहहरू कार्यक्रमको तयारीमा सक्रियरूपमा जुटेका छन् ।
संस्कृति, पहिचान र मौलिकताको विराट उत्सव
यस वर्षको विश्व आदिवासी दिवस नेपालका ५६ भन्दा बढी आदिवासी जनजातिको मौलिक संस्कृति, कला, परम्परा र जीवनशैली एकै स्थानमा अवलोकन गर्न सकिने विशेष अवसर बन्नेछ ।
कार्यक्रममा विभिन्न समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी तथा बिक्री, मौलिक हस्तकला, जातीय पोशाक, सांस्कृतिक सामग्री, मौलिक बाजागाजा तथा जीवनशैली झल्काउने प्रदर्शनी गरिनेछ । साथै विभिन्न जातीय समुदायका कलाकारहरूले आफ्नो मौलिक सांस्कृतिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति मार्फत नेपालको आदिवासी विविधतालाई जीवन्तरूपमा प्रस्तुत गर्नेछन् ।
भाषा, संस्कृति र अधिकारको साझा आवाज
विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिका मातृभाषा संरक्षण, भाषा पत्रकारिता, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतमा अधिकार, भूमि, पहिचान, समानुपातिक सहभागिता, सामाजिक न्याय र संविधानप्रदत्त अधिकार सम्बन्धी विषयलाई विशेष रूपमा उठाइने नेफिनले जनाएको छ ।
नेपालमा ५९ मान्यता प्राप्त आदिवासी जनजाति समुदाय रहेका छन् । प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, इतिहास, परम्परा, ज्ञान प्रणाली, चाडपर्व, रीतिरिवाज र मौलिक जीवनशैली रहेको छ । यी सम्पदाको संरक्षण र भावी पुस्तामा हस्तान्तरण गर्न विश्व आदिवासी दिवसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
आन्दोलनका उपलब्धिको समीक्षा
कार्यक्रममा नेपालका आदिवासी आन्दोलनले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धि, संविधानमा आदिवासी जनजातिको पहिचान, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्रलगायतका विषयमा पनि चर्चा गरिनेछ । साथै अझै प्राप्त हुन बाँकी अधिकारका विषयमा साझा प्रतिबद्धता व्यक्त गरिने जनाइएको छ ।
विश्वलाई नेपालको विविधताको सन्देश
नेफिनका पदाधिकारीका अनुसार यस वर्षको कार्यक्रम केवल दिवस मनाउने औपचारिकता होइन, नेपालको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय पहिचानलाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्ने विशेष अवसर हुनेछ । खुलामञ्चमा एकै दिन दर्जनौं जातीय समुदायको सांस्कृतिक झाँकी, मौलिक बाजागाजा, परम्परागत पोशाक र खानाका परिकार प्रदर्शन गरिने भएकाले कार्यक्रम नेपालकै सबैभन्दा ठूलो आदिवासी सांस्कृतिक महोत्सवमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
महासंघले सम्पूर्ण आदिवासी जनजाति समुदाय, सरोकारवाला निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक विविधता, मौलिक सभ्यता र आदिवासी जनजातिको पहिचान तथा अधिकारको साझा अभियानमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।




















