रोल्पा
नेपाल तरुण दल रोल्पा नगरपालिका सभापति रोहित पुनको हत्यारालाई कानूनी दायरामा नल्याए सम्म नेपाली काङ्ग्रेस रोल्पाले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
काङ्ग्रेसले सदरमुकाम लिवाङमा सोमबार सम्पन्न गरेको विरोध कार्यक्रममा पार्टी सभापति अमरसिहं पुनले हत्यारालाई कारवाही नभए सम्म आन्दोलनलाई निरन्तरता दिइ राख्ने बताएका हुन् ।
राजनीतिक संरक्षणमा तरुण नेता रोहितको हत्या भएको आरोप लगाउँदै उनले हत्यारालाई उन्मुक्ति दिने चलखेल भइरहेको आरोप लगाए । सभापति पुनले हत्यामा संलग्न केही व्यक्ति अझै पक्राउ पर्न नसकेको भन्दै पक्राउ परेकालाई पनि छुटाउने गरी राजनीतिक दबाब आउन थालेकोमा दुःख व्यक्त गरे ।
आइतबार दिउसो ४ः४५ बजे सुलिचौरमा हत्या गरिएका तरुण नेता रोहितको परिवारले शव बुझ्न मानेका छैनन् । अपराधीहरु खुलमखुल्ला हतियार सहित हिँड्दा समेत सुरक्षा निकाय मुकदर्शक भएर बसेको आफन्तले आरोप लगाएका छन् ।
हत्याको विरोधमा नेपाल तरुण दल रोल्पाले सोमबार बन्दको आयोजना गरेको थियो । बन्दकै क्रममा पार्टी कार्यकर्ताले सरकार विरोधी नारा जुलुस गर्दै नगर परिक्रमा गरेका थिए ।
रासस





























प्रतिक्रिया