काभ्रे
बनेपा–७ का संविधान बहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो । उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन् ।
सन्तान झैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो घटना हो । उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो । तर मुलुकी अपराधसंहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भयो ।
गत २२ भदौमा मादक पदार्थ सेवन गरी सडकमा होहल्ला गर्दा ‘टमी र काली’ नामक कुकुरहरुले उनीहरूलाई देखेर एक्कासि भुके । भुकेका कुकुरहरुलाई रडले हानेर खुट्टा भाँचिदिए । कुटेपछि कुकुर मालिक जोशीसँग उनीहरूको विवाद समेत भयो । त्यसपछि दुई युवाले खुकुरी ल्याएर कुकुर काट्न खोजेपछि जोशी प्रहरी कार्यालय पुगे । ब्लोन र लामा आइतबार पक्राउ परे । घरपालुवा जनावर कुटेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले पहिलो पटक मुद्दा दर्ता गरेको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसुर ( सजायँ निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ९ को उपदफा ७ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट पक्राउ आदेशपछि ब्लोन र लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।
राजधानीबाट































प्रतिक्रिया