महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै उच्चस्तरीय छानबिन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । "/>

आफन्त भन्छन्, – न्यायको आशा मर्‍यो : निर्मला हत्याप्रकरण

आफन्त भन्छन्, – न्यायको आशा मर्‍यो : निर्मला हत्याप्रकरण

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा शंका लागेको भन्दै उच्चस्तरीय छानबिन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिएका छन् । केसीको राजीनामाले घटनाको सत्यतथ्य बाहिर आउनेमा शंका बढेर गएको हो ।

प्रहरीको नयाँ अनुसन्धान टोली र सीआईबीकै नयाँ नेतृत्वले सत्यतथ्य बाहिर ल्याउला भन्ने आशामा रहेका पन्त परिवार उच्चस्तरीय समितिका सदस्यको राजीनामाले झन् सशंकित बनेका हुन् । अपराधी पक्राउ पर्छन् भन्ने आशामा रहेका निर्मलाका बुवाआमाले पनि छोरीले अब न्याय पाउने आशा मरेको बताए ।

‘मैले त अहिले सम्म पनि न्याय पाइएला कि भन्ने सोचेको थिएँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘अब भने यो आश मर्न थाल्यो ।’ घटनाले प्रतिदिन नयाँ मोड लिनुले न्याय पाउने कुनै सम्भावना नरहेको उनी बताउँछन् । उनले भने, ‘प्रधानमन्त्रीले केही दिन अघि एक टीभी अन्तर्वार्तामा दिएको अभिव्यक्तिले नै छोरीले न्याय पाउने आशा मारिसकेको थियो ।’ वास्तविक अपराधी जोगाउन राज्य नै लागेकाले आफूहरू न्याय पाउनबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनले बताए ।

सरकारले नै अपराधी बचाउन खोजेपछि आफूहरूको छोरीले न्याय पाउने अब कुनै सम्भावना नदेखेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘छोरीका हत्यारा पक्राउ पर्लान् र छोरीलाई न्याय देला भन्ने आशा थियो’, उनले भनिन् ‘अब झन् शंका बढ्दै गएको छ ।’ डेढ महिना सम्म पनि न्यायको आश जीवितै राखे पनि अब भने त्यो पनि मरेको उनको भनाइ छ ।

समितिका सदस्यले राजीनामा दिएपछि निर्मलालाई न्याय दिने अभियानमा क्रियाशील रहेकाहरूसमेत सशंकित बनेका छन् । ‘छानबिन समितिका एक सदस्यको राजीनामाले झन् खतरा देखिएको छ’, अधिकारकर्मी एवं अधिवक्ता पुनम चन्दले भनिन्, ‘हत्यारा जोगाउन अब झन् चलखेल हुने देखियो ।’ समितिकै सदस्यले आफ्नो समितिको छानबिनमा असहमति राखेर राजीनामा दिइसकेपछि आशंका बढेको उनले बताइन् ।
अन्नपूर्णबाट

Logo