काठमाडौँ
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यम अनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार पत्रकारको पारिश्रमिक अब १९ हजार ५०० बाट २९ हजार ५०० र सञ्चार खर्च गरी ३० हजार ५०० पु¥याइएको अध्यक्ष गङ्गाधर पराजुलीले जानकारी दिए । समितिले सञ्चार प्रतिष्ठानको क्षमता, श्रेणी र तहलाई समेत आधार बनाएर पारिश्रमिकमा पुनरावलोकन गरेको हो । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष डा.सुरेश आचार्यको संयोजकत्वमा गठित पारिश्रमिक पुनरावलोकन कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख गरिएको पारिश्रमिकको दरलाई केही परिमार्जन गरी पारिश्रमिक पुनरावलोकन गरिएको जानकारी दिए ।
समितिले पुनरावलोकनका लागि गरेको नयाँ पारिश्रमिक अनुसार क, ख र ग वर्गमा पर्ने राष्ट्रियस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः २९ हजार ५००, २७ हजार ५०० र २४ हजार ५०० तथा प्रादेशिकस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः २१ हजार ५००, २० हजार र १८ हजार निर्धारण गरेको छ ।
यस्तै स्थानीयस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवीका लागि क्रमशः १८ हजार १७ हजार र १६ हजार न्यूनतम पारिश्रमिक तोकिएको छ । समितिले ५०० वाट भन्दा बढी क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारको लागि २९ हजार ५००, पाँच सय वाट क्षमता सम्मका रेडियोमा कार्यरत श्रमजीवीका लागि २१ हजार ५०० र १०० वाट सम्म क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि १८ हजार मासिक न्यूनतम पारिश्रमिक तोकिएको छ ।
टेलिभिजन प्रतिष्ठान मध्ये स्याटलाइट टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि न्यूनतम पारिश्रमिक २९ हजार ५०० र केबुल टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि २१ हजार ५०० निर्धारण गरिएको छ ।
समितिले स्ट्रिन्जर समाचारदाताको हकमा राष्ट्रियस्तरका सञ्चार प्रतिष्ठान मध्ये पत्रपत्रिकामा प्रतिसमाचार ३५०, रेडियोमा ३०० तथा टेलिभिजनमा ९०० तथा प्रादेशिक तथा स्थानीय सञ्चारमाध्यम अन्तर्गत पत्रपत्रिकामा २२५ रुपैयाँ, रेडियोमा २२५ र टेलिभिजनमा ७५० पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
राजधानीबाट





























प्रतिक्रिया