काठमाडौं । सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेजले दोस्रोपटक सफलतापूर्वक निःशुल्क कलेजो प्रत्यारोपण गरेको छ ।
केएमसीले मंगलबार अस्पताल परिसरमै एक औपचारीक कार्यक्रमको आयोजना गरि सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जानकारी गराएको हो । साउन २ गते उक्त प्रत्यारोपण भएको थियो । सामान्यतया महिलाले पुरुषलाई कलेजो दान गरेको पाइन्छ । तर यो पटक भने रक्षा बन्धनको अवसरमा मोरङ जिल्ला बुढीगङ्गा गाउँपालिका–१ निवासी ३६ वर्षीय दाई विपिन विक्रम विष्टले आफ्नी ३० वर्षिया बहिनी रक्षा विष्टलाई कलेजो दान गरेका हुन् ।
विरामी रक्षा विष्टले भावुक हुँदै दाईले रक्षा बन्धनको गिफ्टको रुपमा कलेजो दान गरेर नयाँ जीवन नै दिएको सुनाइन् । उनले आफ्नो स्वास्थ्यको बारेमा सुनाउँदै भनिन्,‘‘प्रत्यारोपण गरेपछि स्वास्थ्यमा धेरै सुधार भएको छ । डाक्टरले कम्प्लिट रिकभर हुन एक वर्ष लाग्छ भन्नुभएको छ । आफ्नै देशमा, घर नजिकै केएमसी अस्पतालमा डाक्टरहरुले सफलता पूर्वक शल्यक्रिया गर्दिनु भयो नयाँ जिवन पाएकोमा खुसी छु ।’’
त्यस्तै, दाजु विपिन विक्रम विष्टले आफ्नी बहिनीको जीवन रक्षा गरिदिएकोमा केएमसी अस्पताल, डाक्टर सुनिल शर्मा र लिभर ट्रान्सप्लान्ट विशेषज्ञ टोलीलाई धन्यवाद दिए ।
कार्यक्रममा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) विशेषज्ञ डा. सागर पौडेलले प्रत्यारोपणको अनुभव सुनाउँदै भने, ‘‘ म यहाँ आबद्ध भएको दोस्रो दिनमै हामीले पहिलो कलेजो प्रत्यारोपण गरेका थियौँ । उक्त बिरामीलाई प्रत्यारोपण गर्नुपर्ने प्रमुख कारण अटो इम्युन हेपाटाइटिस सम्बन्धित सिरोसिस थियो । जुन कलेजो प्रत्यारोपणको एउटा मुख्य कारण मानिन्छ ।’’
यसैगरी, अन्य प्रमुख कारणहरूमा अल्कोहलिक लिभर सिरोसिस, नन-अल्कोहलिक स्टेटो हेपाटाइटिस सम्बन्धित सिरोसिस, तथा हेपाटाइटिस बी र हेपाटाइटिस सीका कारण हुने कलेजो क्षति पर्ने जानकारी दिए ।
कलेजो प्रत्यारोपण सर्जन डा. रोशन घिमिरेले सुरुमा भारतमा उपचारको योजना बनाइएपनि केएमसी अस्पतालमा चिकित्सकहरूको समन्वय, सहजता र विश्वासका कारण अन्ततः यही प्रत्यारोपण गराउने निर्णय भएको बताए । पुरुषले महिलालाई अंगदान कम गर्ने प्रवृत्तिको विकास भइरहँदा विपिनको यो कदम प्रेरणादायी बनेको उनकाे भनाइ छ ।
विरामीको स्वास्थ्य अवस्थाको जानकारी दिँदै डा. घिमिरेले भने, ‘‘शल्यक्रियाका क्रममा केही जटिलता सिर्जना भएपनि हाल उहाँको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । हल्का कम्प्लिकेसन भएर डबल सर्जरी गर्नुपर्याे तर अहिले ठिक हुँदै गएको छ ।’’
कलेजो प्रत्यारोपणको सफलताको पछाडि चिकित्सकहरूको मिहिनेत, परिवारको एकता र दाताको निःस्वार्थ निर्णय प्रमुख कारण भएको चिकीत्सकहरुले बताएका छन् ।
नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माकाे नेतृत्वमा केएमसीले नेपालकै उत्कृष्ट गुणस्तरीय प्रत्यारोपण सेवा सुरु गरेको छ । गुणस्तरीय कलेजो प्रत्यारोपण सेवा सुलभ मूल्यमा प्रदान गरिरहेको छ । अन्य अस्पतालमा कलेजो प्रत्यारोपण गर्नका लागि ३५ देखि ४० लाख रुपैयाँसम्म खर्च लाग्दछ भने केएमसीले त्यहि सेवा आधा खर्चमा प्रदान गरिरहेको छ । यो सम्भव हुनुमा केएमसीकाे व्यवस्थापन टिम, त्यहाँका फ्याकल्टी, तथा सबै डिपार्टमेन्टहरूको समन्वयपूर्ण प्रयासको परिणाम भएको अस्पतालले जनाएको छ ।































प्रतिक्रिया