–मीना घोरसाइने
हरितालिका तीज आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ । "/>

तीजको दर संस्कृतिसँगै विकृति

तीजको दर संस्कृतिसँगै विकृति

केन्द्रबिन्दु
3
Shares

–मीना घोरसाइने
हरितालिका तीज आउन अब केही दिन मात्र बाँकी छ । पहिले पहिले तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै आएको छ ।

काठमाडौँ नयाँ बानेश्वरकी ६९ वर्षीया दुर्गा दाहालले तीज मनाउन थालेको ५० वर्ष हुन लागिसक्यो । त्यतिबेला दर खाने चलन एकदमै सीमित थियो । जसले जतिसक्यो त्यति नै आफ्ना चेलीबेटीलाई खुवाउने चलन थियो । “त्यतिबेला दर खाने र खुवाउने संस्कृति एकदमै राम्रो थियो, परिवार र आफन्तलाई तीजमा एकै ठाउँमा भेला हुने अवसर मिलेको थियो”, उनले भनिन्, “तर अहिले दर आफ्नो आर्थिक हैसियत नहेरी खुवाउनु भनेको अहिलेको विकृति हो ।” उनका अनुसार अहिले अरुको देखावटीबाट र अरु समान बन्नको लागि नै दर खुवाउने प्रवृत्ति बढ्दै गए पनि विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने दर कार्यक्रमले महिलाबीच जमघटको अवसर मिलेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी दाहाल आफ्नो पार्टीले आयोजना गर्ने दर कार्यक्रमले देशभरीका दिदीबहिनीसँग भेटघाट गर्ने अवसर जुराइदिएको बताउँछिन् । काठमाडौँमा बसोवास गर्दै आएकी निर्मला राउत सबैले मिलाएर एकपछि अर्को गरी दर खाने संस्कृति आफूलाई राम्रो लाग्ने गरेको बताउँछिन् ।

“पहिले एक जनाले मात्र तीजको अघिल्लो दिन दर खुवाउँदा अर्कोले खुवाएन भन्नेजस्तो लाग्थ्यो, अहिले भने सबैको पालो आउने र भेटघाट गर्ने अवसर जुर्ने हुँदा रमाइलो गर्ने पर्याप्त अवसर पाइन्छ”, उनले भनिन् । दर भड्किलोे रुपमा नगरी सामान्य रुपमा रमाइलो गर्ने उद्देश्यले गर्नुपर्ने उनी बताउँछिन् ।

तीजमा धनी वर्गलाई भन्दा गरीब वर्गलाई देखावटीको कारण समस्या हुने गरेको झापाकी रमा न्यौपाने बताउँछिन् । “तीजको दिन भोकै बसेर महिलाहरु खासै नाच्न पनि सक्दैनन्, अगाडि नै दर खाएर रमाइलो गर्नु एक किसिमले राम्रै पनि हो”, उनले भनिन् ।

तीज अगाडि नै दर खानुमा राम्रो र नराम्रो दुवै पक्ष रहेको बताउँदै एक दुई महिना अघिदेखि दर खानुभन्दा पनि एक हप्ता अगाडिदेखि खानु राम्रो रहेको न्यौपानेको भनाइ छ । अहिले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा दर खाने प्रचलन बढ्दै गइरहेको छ । तीजका बेला आफ्ना सङ्गठनका सेवाग्राहीलाई भेला गराएर थुप्रै सहकारी, राजनीतिक दल, सङ्गठन आदिले दर खुवाउँदै आइरहेका छन् ।

विभिन्न सङ्घसंस्थाले दर खुवाउँदा त्यसले नकारात्मक असर नगर्ला भन्न सकिन्न । कतिपय अवस्थामा भने दरकै कारण सयौंँ मानिस बिरामी परेका उदाहरण हामीसामु छ । गत शनिबार मात्र काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा यस्तै घटना भयो । नगरको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारीले आयोजना गरेको दर कार्यक्रममा विषाक्त खाना खाँदा पाँच सयभन्दा बढी मानिस बिरामी परे । हाल बिरामी उपचारकै क्रममा छन् ।

ती अवसरमा खाइने खानामा आफू स्वयं सचेत हुनुपर्ने त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा वीणा पौडेल बताउँछिन् । “दर भन्ने शब्द तीजको अघिल्लो दिन भोलिपल्ट भोक नलागोस् भनेर खाइने खाना हो तर अन्य दिनमा खाने खाना दर होइन”, पौडेलले भनिन् तीजको अगाडि गरिने भेटघाट नराम्रो नभए पनि शब्दको चयनमा ख्याल गर्नुपर्ने उनी बताउँछिन् ।

अन्य दिनमा घरबाट बाहिर निस्कन नपाएका महिलाले विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई नयाँ कुरा सिक्ने अवसर पनि पाउने डा पौडेल बताउँछिन् । त्यस्ता अवसर आयोजना गर्दा सरकारी निकाय लगायत अन्य सङ्घसंस्थाले महिला सशक्तीकरणमा ध्यान दिनुपर्ने सुझाव उनले दिइन् ।

“महिलालाई वैदेशिक रोजगारीलगायत अन्य कानूनी कुरा सिकाउन सकेमा देश र समाज दुवैलाई फाइदा हुन्छ”, उनी थप्छिन्, “महिलालाई सशक्त बनाए मात्र समाजिक समस्या न्यूनीकरणमा केही सहज हुन्छ ।” उनका अनुसार तीजका बेला गरिने भेटघाटमा महिला मात्र नभएर पुरुष पनि सहभागी हुनु अर्को सकारात्मक पक्ष हो । रासस

Skip This
Skip This
Logo