काठमाडौं । चीनकाे प्रतिष्ठित चेरी अटोमोबाइल ग्रुप अन्तर्गतको न्यू इनर्जी ब्रान्ड ओमोडा एण्ड जेइकोको नयाँ विद्युतीय एसयूभी अब नेपाली बजारमा उपलब्ध भएको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा उक्त एसयूभी सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो । कम्पनीले यो एसयूभीलाई आधुनिक डिजाइन, उन्नत प्रविधि र विश्वसनीय पर्फर्मेन्ससहित नेपाली उपभोक्ताका लागि आकर्षक विद्युतीय सवारीको विकल्पका रूपमा प्रस्तुत गरेको छ । नयाँ मूल्यसहित सार्वजनिक भएको यो मोडल नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धात्मक बन्ने विश्वास गरिएको छ ।
के छ विशेषता ?
जे–फाइभमा ६०.९ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा करिब ४ सय किलोमिटरसम्मको दूरी तय गर्न सक्ने अनुमान गरिएको छ । आधुनिक र स्मार्ट डिजाइनमा उपलब्ध यो एसयूभीको लम्बाइ ४ हजार ३८० एमएम, चौडाइ १ हजार ८६० एमएम, उचाइ १ हजार ६५० एमएम र ह्वीलवेस २ हजार ६२० एमएम रहेको छ ।
यसको इन्टेरियर मिनिमल तर प्रिमियम लुक दिने खालको छ । ड्यासबोर्डमा केही बटमसहितको १३।२ इञ्चको ठुलो पोट्रेट टचस्क्रिन, दुई रंगमा सजिएको लेदर सिट, र १. ४५ वर्ग मिटरको प्यानोरोमिक ग्लास रूफले गाडीको क्याविनलाई अत्यन्तै आलिसान बनाएको छ ।
जे–फाइभमा इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप दिइएको छ । जसका कारण अप्ठ्यारो वा खराब बाटोमा पनि आरामदायी ड्राइभिङ अनुभव गर्न सकिन्छ । गाडीमा मल्टी–कलर एम्बियन्ट लाइटिङ, डबल–ग्लेज्ड साउन्डरूफ ग्लास, वायरलेस चार्जिङ, पावर एड्जस्टेबल फ्रन्ट सिटजस्ता सुविधाहरूले लक्जरी स्तरको अनुभव दिने कम्पनीको दाबी छ ।
यसमा फुल साइज स्पेयर टायर समेत उपलब्ध छ । जसले यात्रामा थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ । गाडीमा ४८० लिटरको बुट स्पेस छ । जसका कारण पछाडिको सिट फोल्ड गरेर १ हजार १८० लिटरसम्म बढाउन सकिन्छ। सुरक्षा पक्षमा एडास लेभल २ फिचर समावेश गरिएको छ ।
यसअन्तर्गत एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र सफ्टवेयर अपडेटजस्ता फिचरहरू उपलब्ध छन् । नाइमा एक्स्पो अवधिभर यो नयाँ एसयूभीको मल्य ५६ लाख ९९ हजार निर्धारण गरिएको छ । तर एक्स्पोपछि भने यसको मूल्य ६० लाख ९९ हजार पुग्नेछ ।































प्रतिक्रिया