भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडास्थित अन्तर्राष्ट्रिय खेल मैदानमा शनिबार सम्पन्न उपत्यकाव्यापी फुटबल प्रतियोगिताको उपाधि ललितपुरको चेवाल युथ क्लबले हात पारेको छ ।
भक्तपुर खेलकूद विकास समितिको आयोजना तथा वागेश्वरी मजुवा युथ क्लब चाँगुनारायणको सहआयोजनामा दुई सातादेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा चेवाल युथ क्लबले चाँगुनारायण–९ ताथलीको माता पञ्चकन्या युथ क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
मिर्मिरे सामुदायिक अध्ययन केन्द्र चरेली चाँगुनारायणले रोयल ताथली फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै केन्द्रले तेस्रो स्थान हासिल गरेको थियो । उपत्यकाका तीन जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरका १५ वटा समूहको सहभागिता थियो ।
प्रथम हुने चेवाल युथ क्लबलाई रु एक लाख, दोस्रो हुने माता पञ्चकन्या युथ क्लबलाई रु ५० हजार र तेस्रो हुने मिर्मिरे सामुदायिक अध्ययन केन्द्रलाई रु २५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा अञ्जित ढकाल र जेनिस प्रजापति उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रथम, द्वितीय र तृतीय हुने समूह, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे । जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाले प्रतियोगितामा कूल रु पाँच लाख ७५ हजार खर्च भएको जानकारी दिए।
प्रतियोगिताको आयोजनाका लागि चाँगुनारायण नगरपालिकाले रु ५० हजार, प्रथम र तेस्रो पुरस्कारका लागि व्यवसायी विज्ञान राई, किरण थापा, पूर्ण लिम्बू र दोस्रो पुरस्कारका लागि रमेश बुढाथोकीले रकम प्रदान गरेका थिए । खेलकूदका विकासमा टेवा पुर्याउनका लागि वागेश्वरी मजुवा युथ क्लबलाई नगरकोट जीपलाइनका प्रो प्रेम बस्नेतले रु एक लाख र वागेश्वरी हाउजिङका राजु खड्काले रु ५० हजार प्रदान गरेका थिए।































प्रतिक्रिया