काठमाडौं । चिनियाँ विद्युतीय सवारी कामा ईभीले नेपाली अटो बजारमा छोटो समयमै लोकप्रियता कमाएको छ । सन् २०२४ मा नेपाल भित्रिएको कामा ईभीले आफ्नो व्यवसाय विस्तार आक्रामक विस्तार गरिरहेको छ।
यसलाई त्रिवेणी मोटोकर्प र श्री मोटर्सले आधिकारिक वितरकको रूपमा काम गरिरहेका छन्। काम ईभीले नेपालमा पिकअप ट्रक, भ्यान र कन्टेनर बिक्री गरिरहेको छ। हाल यसको २ वटा मोडलका पिकअप ट्रक, एउटा मोडलको भ्यान र एउटा मोडलको कन्टेनर उपलब्ध छन्। कम्पनीले कामा ईभी ईडब्लूथ्री ट्रक पनि नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा सार्वजनिक गर्ने तयारी गरेको छ। एक वर्षको अवधिमा कम्पनीले १९७ युनिट ट्रक आयात गरिसकेको छ भने ३० भन्दा बढी भ्यान भित्र्याइसकेको छ।
विद्युतीय पिकअप ट्रक
कामा ईभीको विद्युतीय पिकअप ट्रकहरू सामान ढुवानीका लागि उपयुक्त छन्। लाइट कमर्सियल सेग्मेन्टमा पनि विद्युतीय साधनको प्रयोग बढ्दै गएपछि यसको लोकप्रियता चुलिँदै गएको छ।
कामा इडब्लु–१
मेगा बिजनेश ग्रुपले नेपाली बजारमा भित्र्याएको कामा ब्राण्डको इडब्लु–१ मोडलको इलेक्ट्रीक पिकअप ट्रक धेरैले चर्चा गर्दै आएका मोडल हो । यो ईभीमा ३८.६४ किलोवाट आवरको गोसन हाईटेक कम्पनीको ब्याट्री प्याक छ । यो व्याट्रीले २६० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
स्लो तथा फास्ट चार्जिङका लागि जीबीटी चार्जिङ पोर्ट रहेको कामाको ट्रकमा अगाडि र पछाडि दुबै चक्कामा ड्रम ब्रेक पाउन सकिन्छ । यो ईभीमा एमपीथ्री प्लेयर, पावर स्टेरिङ, एबीएस, एयर कण्डिसन, रिजेनेरेटिभ ब्रेकिङ जस्ता फिचर छन् ।
कामाको इडब्लु–१ को लम्बाई ४९९० एमएम, चौडाई १६९० एमएम, उचाई २०५० एमएम छ । यसमा ३०५० एमएम लम्बाई तथा १६०० एमएम चौडाई भएको कार्गोबे छ । यो ईभीले पनि १५०० केजीसम्मको कार्गो बोक्न सक्छ ।
कम्पनीले यसमा १४ इन्चको ह्वील दिएको छ । यो पीकअप ट्रकको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ । कम्पनीले यो ईभीको व्याट्रीमा ५ वर्ष वा १ लाख किलोमिटरसम्म वारेन्टी दिएको छ । यसको मूल्य २५ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ ।
कामा ईभी–२
त्रिवेणी मोटोकर्पले भित्र्याएको कामाको ईभी–२ मोडलको पिकअप ट्रकमा सीएटीएलको ४१.८६ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले २४० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ । जीबीटी चार्जिङ पोर्ट रहेको यो ईभीले स्लो तथा फास्ट चार्जिङ सपोर्ट गर्छ । डीसी फास्ट चार्जरले ४५ मिनेटमा १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । ७० किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यो ईभीको फ्रन्ट र रियर दुबैमा हाइड्रोलिक ड्रम ब्रेक छ ।
यसमा १४ इन्चको ह्वील तथा १८० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । पावरस्टेरिङ, एयरकण्डिसन, पावर विण्डो, एबीएस, इबीडी, अप्सनल डिउल एयरव्याग, सेन्टर स्कृन, रिभर्स पार्किङ सेन्सर र क्यामरा जस्ता फिचर छन् ।
सेग्मेन्टमै सबैभन्दा ठूलो साइजको यो ट्रकको लम्बाई ५५९५ एमएम, चौडाई १७९० एमएम र २०७० एमएमको उचाई रहेको छ । यसमा ३३०० एमएम लम्बाई तथा १६८० एमएम चौडाई भएको कार्गोबे छ। यसले पनि १६०० केजीसम्मको कार्गो ओसार पसार गर्न सक्छ। यसको मूल्य २५ लाख ७० हजार रुपैयाँ रहेको छ।
विद्युतीय भ्यान
कामा ईभीका विद्युतीय भ्यानहरू यात्रु र सामान ढुवानी दुवैका लागि उपयुक्त छन्। यी भ्यानहरू विभिन्न सिट क्षमतामा उपलब्ध छन्।
कामा ईभी ईएसपी सेभेन
एक विद्युतीय माइक्रोबस हो जुन नेपालमा उपलब्ध छ। यो विशेषगरी यात्रुहरूको ढुवानीका लागि डिजाइन गरिएको छ। यो १४ सिट क्षमताको विद्युतीय माइक्रोबस हो । जसले ठूलो संख्यामा यात्रुहरू बोक्न सक्छ। यसको लम्बाई ५२६५ एमएम, चौडाइ १७१५ एमएम र उचाइ २०६५ एमएम रहेको छ ।
यसको ह्विलबेस ३४५० एमएम रहेको छ, जसले सवारीलाई स्थिरता प्रदान गर्छ। गाडीको आफ्नो तौल १८२० केजी हुन्छ। यो भनेको सामान वा यात्रु नराखेको अवस्थाको तौल हो। यसले कुल ३०५० केजीसम्मको भार (गाडीको आफ्नो तौलसहित) बोक्न सक्छ।
यस माइक्रोबसमा बिजुलीले चल्ने मोटर जडान गरिएको छ। यो मोटर ३५ देखि ७० किलोवाटसम्मको क्षमताको हुन्छ, जसले गाडीलाई राम्रो शक्ति प्रदान गर्छ। यसमा ४१.९३ किलोवाट घण्टाको ब्याट्री छ। यो ब्याट्री एउटा ठूलो पावर बैंक जस्तै हो जसले गाडीलाई चलाउन ऊर्जा दिन्छ।
एकपटक ब्याट्री फुल्ली चार्ज गरेपछि यो गाडी २४० देखि ३१० किलोमिटरसम्म गुड्न सक्छ। यद्यपि, व्यवहारमा भने यो करिब २५० किलोमिटर गुड्ने अनुमान गरिएको छ। यसको अधिकतम गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा सम्म हुन्छ।
यसमा २ तरिकाले चार्ज गर्न सकिन्छ । फास्ट चार्जिङबाट करिब १ घण्टामै ब्याट्रीको ८०% चार्ज गर्न सकिन्छ भने स्लो चार्जिङबाट सामान्य तरिकाले घरमा वा चार्जिङ स्टेसनमा चार्ज गर्दा प्रयोग हुन्छ। यसमा पूरा चार्ज हुन ८ देखि १० घण्टा लाग्न सक्छ।
सुरक्षाका लागि, यसमा हाइड्रोलिक ब्रेक प्रयोग गरिएको छ, जसले गाडीलाई छिटो र सुरक्षित रूपमा रोक्न मद्दत गर्छ । पार्किङका लागि सेन्ट्रल ड्रम पार्किङ ब्रेक छ, जसले गाडीलाई पार्किङ गर्दा स्थिर राख्छ । यो एउटा शक्तिशाली, धेरै मानिस बोक्न सक्ने र तुलनात्मक रूपमा लामो दूरीसम्म गुड्न सक्ने इलेक्ट्रिक माइक्रोबस हो जसलाई चार्ज गर्न पनि सजिलो छ । यसको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले बिक्री पछिको सेवा र स्पेयर पार्टस्को उपलब्धतामा पनि जोड दिएको छ। कामा ईभी पूर्ण विद्युतीय गाडी भएकोले यो कम खर्चिलो छ भने वातावरणमैत्री पनि रहेको छ। यो नेपालको भौगोलिक अवस्थाका लागि उपयुक्त डिजाइनमा उपलब्ध छ । यसको बलियो बनावटले ग्रामीण र शहरी दुवै क्षेत्रमा भरपर्दो प्रदर्शन दिन्छ ।





























प्रतिक्रिया