काठमाडौं । पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय गाडीको नयाँ मोडलको आगमनले अटोप्रेमीहरूलाई उत्साहित बनाएको छ । एक्स्पोमा लन्च भएका सवारीसाधनको मूल्यको दायरा २९ लाखदेखि १ करोड रुपैयाँ बढीसम्म छ ।
बीवाइडी एटो१, लीपमोटर बी–१०, जेको जे – फाइभ, फरथिङ फ्राइडे, महिन्द्रा बीई–सिक्स र एक्सईभी नाइन ई जस्ता मोडलहरू दर्शकको आकर्षणको केन्द्र बनेका छन् । साथै आइएम–सिक्स, बीवाइडी सिलायन–सेभेन, माज्दा सीएक्स –६० र फक्सवागन भर्टुस पनि अटो शोबाटै बिक्री सुरु भएका छन् ।
विद्युतीय मोडलको स्पष्ट बाहुल्यतामा यो प्रदर्शनीले बजारमा प्रतिस्पर्धा अझ चर्काएको छ, जहाँ प्रत्येक ब्रान्डले आफ्नो नवीनतम प्रविधि र डिजाइनका साथ उपभोक्ताको मन जित्ने प्रयास गरिरहेका छन् ।
कुन-कुन ईभी लन्च भए र मूल्य र फिचर कस्ता छन् ?
बिवाइडी एटो१
मोबिलिटी एक्स्पोमा यसपटक सबैको ध्यान खिच्ने मोडल बनेको छ, बीवाइडी एटो१ । यो मोडल एक्स्पोमा लन्च भएका मोडलहरु मध्ये सबै भन्दा सस्तो मोडल भएको बताइएको छ । ३०.०८ किलोवाट अवार र ३८.८८ किलोवाट अवार क्षमताका ब्याट्री प्याक जडान गरिएको एटो–वान मोडल दुई वटा भेरियन्टमा उपलब्ध रहेको छ । डाइनामिकको दर २८ लाख ९५ हजार राखिएको छ भने प्रिमियमको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
ओमोडा/जेको–जे फाइभ
चिनियाँ ब्रान्ड ओमोडा र जेकोको नयाँ मोडल जे–फाइभ, नेपाली बजारमा प्रवेश गर्दै आकर्षक लुकका कारण सुरु देखि नै चर्चामा छ । एसपीजी अटोमोबाइलमार्फत बिक्री सुरु भएको यो इलेक्ट्रिक एसयूभीमा ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री र १५५ किलोवाटको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ ।
एकपटकको फुल चार्जमा यो गाडीले सहजै ४०० किलोमिटरसम्मको यात्रा सहजै तय गर्न सक्छ । यसको आधिकारिक मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिए पनि, नाइमा अफर अन्तर्गत ग्राहकहरूले अहिले मात्र ५६ लाख ९९ हजार मै उपलब्ध भएको छ ।
लीपमोटर बी–१०
मोबिलिटी एक्स्पोमा लन्च भएको नयाँ ईभी मोडल मध्ये लीपमोटर बी–१० पनि एक हो । ४९ लाख ९९ हजार रुपैयाँको आकर्षक सुरूवाती मूल्यसहित बजारमा आएको यो मोडल दुई भेरियन्टमा उपलब्ध छ । जसमा दुवैमा समान १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ । साँग्रिला मोटर्सले टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
महिन्द्रा बिई–सिक्स
नाइमा अटो एक्स्पोमा प्रवेशसँगै ग्राहकको ध्यान खिच्न सफल भएको महिन्द्रा बीइ–सिक्स । अग्नी इनकर्पोरेट प्रालिमार्फत नेपाली बजारमा आएको यो इलेक्ट्रिक एसयूभी तीन भेरियन्टमा उपलब्ध छ । प्याक वान ५७ लाख रुपैयाँमा, प्याक टु ६० लाख रुपैयाँमा, र प्याक थ्री ६७ लाख रुपैयाँमा उपलब्ध रहेको छ । यसमा ५९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र ९९ किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ ।
फरथिङ फ्राइडे
लक्ष्मी इमोबिलिटीले अटो एक्स्पोमार्फत नेपालमा डेब्यू गराएको फरथिङ फ्राइडे एसयूभी आकार, डिजाइन र मूल्यका कारण धेरै ग्राहकको ध्यान तानिरहेको छ । ६४.४ किलोवाट आवर क्षमताको ब्याट्रीसहितको यो इलेक्ट्रिक एसयूभीमा ९९ किलोवाटको मोटर जडान गरिएको छ । सुरूवाती भेरियन्ट ४८ लाख ९६ हजार रुपैयाँमा र टप भेरियन्ट ५४ लाख ९६ हजारमा उपलब्ध छ ।
महिन्द्रा एक्सईभी ९–ई
महिन्द्राले कुपे एसयूभी सेग्मेन्टमा नयाँ रंग भर्ने उद्देश्यसहित नाइमा र्एक्स्पो मार्फत एक्सईभी ९– ई प्रस्तुत गरेको छ । अग्नी इनकर्पाेरेटमार्फत नेपाली बजारमा आउने यो मोडल तीन भेरियन्टमा उपलब्ध हुने बताइएको छ । यसको सुरूवाती मूल्य ६९ लाख रुपैयाँ तोकिएको यो एसयूभीका पहिलो दुई भेरियन्टमा ५९ किलोवाट आवरको ब्याट्री रहनेछ भने टप भेरियन्टमा ७९ किलोवाट आवरको विशाल ब्याट्री जडान गरिने कम्पनीले बताएको छ ।
किटोन एम७०
त्यस्तै किटोन एम७० को ७ सिटर कमर्सिएयल सवारी साधन लन्च गरेको छ । ससिला मोटर्सले भित्र्याएको किटोन एम७०को मूल्य ३५ लाख ९० हजार रहेको छ भने एक्स्पो अबधी भर बुकिङ गर्नेलाई ९० हजारको छुट दिइएको छ । यसमा २१.८२ किलोवाट आवरदेखि ४१.८६ किलोवाट आवरसम्म क्षमताका ब्याट्री रहेको छ । एकपटकको फुल चार्जमा करिब १५० किलोमिटरदेखि २८० किलोमिटरसम्मको यात्रा गर्न सक्छ ।
फास्ट चार्जिङमार्फत ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ४५ मिनेट लाग्छ भने स्लो चार्जिङबाट २० प्रतिशतबाट १०० प्रतिशतसम्म चार्ज गर्न १० देखि १२ घण्टा लाग्न सक्छ ।
क्यारी
लक्ष्मी ग्रुरुपको सहायक कम्पनी एलएक्सजी मोटर्स प्रालिले नाइमा एक्स्पोमा क्यारीको दुई वटा भेरियन्टको भ्यान सार्वजनिक गरेको छ । उक्त कम्पनीले केभान १ र केभान २ भेरियन्टका इलेक्ट्रिक भ्यान सार्वजनिक गरिएको हो । १५ र १६ सिट क्षमतामा उपलब्ध यी भ्यानमध्ये कमर्सियल भेरियन्ट आधुनिक खैरो रंगमा व्यावसायिक प्रयोजनका लागि उपलब्ध छन् ।
यी भ्यानले एक पटकको फुल चार्जमा ३ सिय किलो मिटर भन्दा बढीको दुरी तय गर्न सक्छन् । केभान १ भ्यानको मूल्य ५८ लाख ५६ हजार रहेको छ भने केभान २ भेरियन्टको मूल्य ६३ लाख ६ हजार निर्धारण गरिएको छ ।
फारिजोन
जगदम्बा मोटर्सले नाइमा एक्स्पोमा दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको छ । जिली ग्रुप अन्तर्गतको फारिजोन ब्राण्डको १९ सिटे भ्यान र चेरी अन्तर्गतको वान्डा ब्राण्डको १४ सिटे भ्यान सार्वजनिक गरेको हो । यी भ्यानले एक टक फुल चार्ज गरेपछि ३ सय किलोमिटर सम्मको यात्रा तय गर्न सक्छ । १४ सिटे भ्यानको मूल्य ५६.५ लाख रुपैयाँ तोकिएको छ । यस भ्यानमा ५३.५८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । ग्राउण्ड क्लियरेन्ससहित, यसमा ५ वर्ष वा ३ लाख किलोमिटरको ब्याट्री र ५ वर्ष वा २ लाख किलोमिटरको मोटर वारेन्टी उपलब्ध छ ।































प्रतिक्रिया