सर्लाही
सामान्यतया ब्याएको गाईले बढीमा १ देखि डेढ वर्ष सम्म दुध दिन्छ । ब्याएको ६ महिनापछि साँढे खोज्ने र गर्भाधान भएको १८० दिनपछि गाई पुनः ब्याउने गर्दछ । ब्याउने समय नजिकिदै गएपछि दुध दिन छोड्छ ।
तर सर्लाहीको हरिवन स्थित एक गाईले भने निरन्तर ११ वर्ष देखि दुध दिईरहेको छ । हरिवन नगरपालिका ८ पुरानोबजार निवासी फणिन्द्र राज बरालको गाईले २०६४ साल देखि निरन्तर दुध दिईरहेको हो । ‘२०६४ साल भदौमा तेस्रो बेत ब्याएपछि हालसम्म निरन्तर दुध दिईरहेको छ’, फणिन्द्रका छोरा भुवनले भने, ‘पटक–पटक कृतिम गर्भाधारण गराउँदा पनि ब्याउन सकेन दुध भने दिईरहेको छ ।’
सूरुमा दिनको दुई पटकमा ८ लिटर दिने गरेको उक्त गाईले ६ लिटर हुँदै पछिल्लो केही वर्षयता ४ लिटर दुध दिने गरेको बरालले जानकारी दिए । कृतिम गर्भाधारण गराउँदा गराउँदै आफूहरु थाकेको बरालले बताए । ‘२०, २२ चोटी नै पशु स्वास्थ्यकर्मी बोलाएर कृतिम गर्भाधारण गरायौं’, भुवनले भने, ‘तर ब्याउनै सकेन, दुध भने दिईरह्यो ।’ १ वर्षयता भने गर्भाधारण समेत नगराएको उनले बताए । ‘२,३ जना स्वास्थ्यकर्मीलाई देखाएर कृतिम गर्भाधारण गराईसक्यौं, तर ब्याउन सकेन’, भुवनले भने, ‘अब थाकि सक्यौं, दुध दिउञ्जेल दुईरहन्छौं ।’
हरियाणा जातमा क्रस गरिएको जर्सी गाईको व्यवहार देखेर पशु स्वास्थ्यकर्मी समेत आश्चर्यचकित भएका छन् । यति लामो समयसम्म नब्याईकन दुध मात्र दिईरहेको देख्दा आफूलाई समेत अचम्म लागेको उक्त गाईलाई पटक–पटक कृत्तिम गर्भाधारण गराएका बागमती नगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख प्रभुकान्त झाले बताए ।
नागरिकबाट































प्रतिक्रिया