ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

केन्द्रबिन्दु
6
Shares

मर्चवार (लुम्बिनी) । बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर ‘देवदह’ को अझै पनि ओझेलमा छ ।

रुपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक देव निर्मित प्राचीन पोखरी नै ऐतिहासिक देवदह भएको स्थानीयको दाबी छ । सामाजिक अभियन्ता लक्ष्मी थारुले भने, “बुद्धको मावलीको खोज तीव्र गतिमा चलिरहे पनि यस क्षेत्रको भूगोल एवं इतिहासप्रति सम्बन्धित निकायहरूको चासो देखिदैन, नाम जुरेकै आधारमा नयाँ ‘देवदह’ लाई प्राथमिकतामा राखेर वास्तविक कोलियग्रामको तथ्य नै ओझेलमा पार्ने प्रयास भएको छ ।” कोलियका पुरातात्विक संरचना र ऐतिहासिकस्थल संरक्षणको अभावमा हराउने जोखिम रहेको उनको भनाइ छ ।

सिलोनी इतिहासका अनुसार, रोहिणी (कोहान) नदी कपिला र कोलीय दुवै नदी सहरको बीचबाट बग्दथे । जहाँ कोलीय सहर बुद्धकी आमा मायादेवीको जन्मस्थल थियो । यसलाई ‘व्याघ्रपुर’ पनि भनिन्थ्यो ।

इतिहासकार एलेक्जेण्डर कनिङ्घमद्वारा लिखित ‘प्राचीन भारतको भूगोल’ (१८७१) पेज ४१७ मा लेखिएको छ, “कोलीको स्थिति अनिश्चित छ, तर यो सम्भवतः अमकोहिल गाउँसँग जोड्न सकिन्छ, जो लुम्बिनी नगरदेखि पूर्वतर्फ ११ माइल र कोहाना नदी नजिकैको विन्दुभन्दा केही कम तीन माइल टाढा छ ।”

युरोपेली अनुसन्धानकर्तामध्ये एलेक्जेण्डर कनिङ्घमले बुद्धजन्मस्थल लुम्बिनी, कोलिय राज्य र आसपासको भूभाग पहिचानमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले पुस्तकमा लेखेका छन्, “लुम्बिनीको वास्तविक पहिचान बुकाननले दिनुभएको विवरण र स्थानीय संरचनालाई अध्ययन गरेरै मात्र सम्भव भयो ।”

स्कटिस इतिहासकार एवं नेपालभित्र वैज्ञानिक अनुसन्धान गर्ने पहिलो विदेशी अन्वेषकका रुपमा परिचित फ्रान्सिस बुकानन–ह्यामिल्टनले आफ्नो सन् १८१९ मा प्रकाशित कृति ‘एन अकाउन्ट अफ द किङ्गडम अफ नेपाल’ मा लुम्बिनी नजिक रहेका यी भूभागको पुरातात्विक महत्वबारे चर्चा गरेका छन् ।

फ्रान्सिस बुकाननकोे भ्रमणले नेपालका बौद्धस्थलहरूको अव्यवस्थित पहिचान गर्न ठूलो योगदान पु-याएको बौद्ध अध्येता भोला गुप्ताले बताए । गुप्ताका अनुसार, “बुकाननको किताबमा छापिएको नक्साले मर्चवार क्षेत्रलाई बुद्ध मावलीको रूपमा स्थापित गर्ने वैज्ञानिक अनुसन्धानको जग बसालेको छ ।”

पुस्तकमा समावेश नेपालको नक्सा मेजर चाल्र्स क्रफोर्डद्वारा तयार पारिएको हो । बुकाननले आफ्नो यात्रा र स्थानीय सूचनाका आधारमा त्यसमा महत्वपूर्ण जानकारीहरू थपेको बताएका छन् । यो नै नेपालको पहिलो वैज्ञानिक नक्सामध्ये एक मानिन्छ । पुस्तकको दोस्रो भागको ‘सेक्सन १ः अफ द टेरिटोरिज सिचुएटेड टु द इस्ट अफ द रिभर काली’ मा यी स्थलहरूबारे चर्चा पाइन्छ ।

बुद्धकालीन सम्पदास्थलहरूको पहिचानमा निकै योगदान पु-याएका भारतीय लेखक डा विजय श्रीवास्तवले ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ (१९५४) पृष्ठ ३१ मा लेखेका छन्, “लुम्बिनी नगरबाट ११ मील पूर्वमा रहेको अमकोहिलनगर नै प्राचीन देवदह (कोलियग्राम) हुनसक्छ ।” उनका अनुसार लुम्बिनी आसपासको भूगोलमा बुद्धकालीन संरचना र सभ्यताका अवशेष अझै पनि माटोमुनि लुकेका छन् ।

“लुम्बिनीबाट अमकोहिल जाने सडकले मेक्सोन नामक लुम्बिनी अधिनस्त एक सहरको सामुन्नेबाट कोहान नदीलाई पार गर्दछ”, डा श्रीवास्तवद्वारा लिखित ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ मा उल्लेख छ । वर्तमान दानव (बुद्धकालीन रोहिणी) खोलाको कटान र भेलसँगै भारततर्फ बगिरहेको अमहवा–निपनिया नै तत्कालीन मेक्सोनसहर भएको स्थानीयको दाबी डा श्रीवास्तवको यो तथ्यसँग मिल्दोजुल्दो छ ।

Skip This
Skip This
Logo